राष्ट्रिय सभामा नौ मन्त्रालयको बजेटमाथिको छलफल सकियो
असार २२ र २३ गते मन्त्रीहरूले जवाफ दिने
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
358
Shares
काठमाडौँ । राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौवटा मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत छलफल पूरा भएको छ।
बिहीबार बसेको सभाको बैठकमा युवा, श्रम तथा रोजगार; सूचना तथा सञ्चार; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; शिक्षा तथा खेलकुद; स्वास्थ्य तथा खाद्य स्वच्छता; भूमि व्यवस्था, सहकारी; सङ्घीय मामिला तथा सामान्य प्रशासन; महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा; विज्ञान, प्रविधि तथा नवप्रवर्तन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सघन छलफल भएको हो।
विनियोजन शीर्षकमाथिको छलफलमा खर्च कटौतीको प्रस्तावसहित सांसद सम्झाना देवकोटा तथा दलीय आधारमा सांसदहरू विष्णुदेवी पुडासैनी, जयन्ती राई, सोनाम ग्याल्जेन शेर्पा, किरणबाबु श्रेष्ठ, श्रीकृष्णप्रसाद अधिकारी, रोश्नी मेचे, खम्मबहादुर खाती, भुवनबहादुर सुनार, रुक्मिणि कोइराला, गीता देवकोटा, सुरेश आलेमगर, धर्मेन्द्र पासवान, विष्णुबहादुर विश्वकर्मा र वासुदेव घिमिरेले भाग लिएका थिए।
छलफलमा सहभागी सांसदहरूले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, औद्योगिक पुनरुत्थान, कृषि उत्पादन वृद्धि, प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्ने र दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनेलगायतका जनअपेक्षा पूरा गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको अर्को बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि, वन तथा पर्यावरण; पूर्वाधार विकास; गृह; ऊर्जा, जलस्रोत तथा सिँचाइ; परराष्ट्र; अर्थ; रक्षा मन्त्रालय तथा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने जानकारी दिए।
राष्ट्रिय सभामा आगामी असार २२ र २३ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय भएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि असार १९ गते शुक्रबार अपराह्न १:१५ बजे बस्नेछ।