न्यूनतम यात्रु नभएपछि कतिपय विमानस्थल नियमित सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री [भिडियो]
यात्रु अभावका कारण २१ विमानस्थल ठप्प, सडक सुविधा र बसाइँसराइ मुख्य कारण
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
169
Shares
काठमाडौँ । पर्यटनमन्त्री खडकराज पौडेलले न्यूनतम यात्रु सङ्ख्याको अभावका कारण देशका सबै विमानस्थलहरू नियमित रूपमा सञ्चालनमा ल्याउन नसकिएको स्पष्टीकरण दिएका छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरू लामो समयदेखि बन्द रहेको भन्दै प्रश्न गरेपछि जवाफ दिने क्रममा मन्त्री पौडेलले यात्रु नै नहुने क्षेत्रमा विमानस्थल सञ्चालन गर्न नसकिएको स्पष्ट पारेका हुन्। उनले विमानस्थल सञ्चालनका लागि सरकारसँग प्राविधिक जनशक्ति र आवश्यक उपकरणको कुनै अभाव नरहेको दाबी समेत गरे।
नेपालमा कुल ५५ वटा विमानस्थलहरू रहेकोमा हाल ३४ वटा मात्रै सञ्चालन योग्य रहेको र २१ वटा विमानस्थल ठप्प रहेको मन्त्री पौडेलले जानकारी दिए। अधिकांश पहाडी क्षेत्रका विमानस्थलहरू बन्द हुनुको मुख्य कारण तीव्र बसाइँसराइ र गाउँगाउँमा सडक सञ्जालको बिस्तार हुनु रहेको उनको भनाइ थियो। हवाई भाडाको तुलनामा सडक यातायात सस्तो र सहज बन्दै गएकाले पनि हवाई यात्रुको सङ्ख्या घटेको प्रतिवेदनहरूले देखाएको उनले उल्लेख गरे।
उनले भने,‘विमानस्थल संचालनको मुख्य समस्या भनेको यात्रुको अभाव रही आएको छ नेपालमा । करिव टोटलमा ५५ वटा विमानस्थहरु छन् । जसमा ३४ वटा विमानस्थलहरु संचालन योग्य छन् । २१ वटा संचालन योग्य छैनन् । अधिकांश पहाडी क्षेत्रको विमानस्थलहरुबाट आउने रिपोर्टंहरु मध्ये पहिलो रिर्पोटमा नै यात्रु संख्यामा अभाव देखाउने गरिएको छ । त्यसको मुख्य कारणको रुपमा चाहीँ बसाईसराईं हुनु र गाउँगाउँमा बाटोको उपलब्धतामा पनि बढ्दै जानु र सडक सुृविधा हवाई भन्दा अलि सस्तो पनि रहनु हो । त्यो कारणले यात्रु संख्या कम भएको हामीलाई जानकारी आईरहेको छ । नेपाल नागरिक उडडयन प्राधिकरणबाट प्राप्त जवाफ अनुसार नै प्राविधिहरु चाहिएको खण्डमा त्यहाँ नियमित रुपमा उडान हुनेगरी न्युनतम यात्रु संख्याको उपलब्धता भएको खण्डमा हामीले प्राविधिक जनशक्ति उपकरणहरु अवश्य पठाउने छौ । त्यसमा हामीलाई कुनै पनि प्रकारको कमी नरहेको अवस्था हो ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारीबारे स्पष्ट पार्दै उनले नियमित उडान हुने ग्यारेन्टी र न्यूनतम यात्रु सङ्ख्या पुग्ने बित्तिकै प्राविधिक टोली र उपकरण पठाउन सरकार पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता व्यक्त गरे।