रास्वपा संघीय व्यवस्थालाई खारेज गर्ने षड्यन्त्रमा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
240
Shares
काठमाडौँ। राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि संघीय व्यवस्थालाई कमजोर बनाउँदै अन्ततः खारेज गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद खालिदले संघीयता कुनै दल वा व्यक्तिको दयाले नभई नेपाली जनताको लामो संघर्ष, बलिदान, जेल जीवन र आन्दोलनको उपलब्धिका रूपमा स्थापित भएको उल्लेख गर्दै त्यसलाई कमजोर पार्ने प्रयास स्वीकार्य नहुने बताए।
उनले संघीयता खर्चिलो भएको, धेरै सांसद पाल्नुपरेको जस्ता तर्क अघि सारेर जनतामा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाउँदै यस्ता गतिविधिले संघीय व्यवस्थामाथि नै प्रहार गरिरहेको टिप्पणी गरे।
“संघीयता कसैको दयामायामा आएको होइन। यो नेपाली जनताले एकात्मक शासनविरुद्ध संघर्ष गरेर, बलिदान दिएर र जेल बसेर ल्याएको व्यवस्था हो। यसलाई खर्चिलो भन्दै कमजोर बनाउने वा खारेज गर्ने कुरा उठ्नु गम्भीर विषय हो,” उनले भने।
सांसद खालिदले जेन्जी आन्दोलनपछि सम्पन्न निर्वाचनतर्फ संकेत गर्दै तत्कालीन रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेद्वार वालेन्द्र साहले जनकपुरमा संघीयताको प्रभावकारी कार्यान्वयनमार्फत सेवा नागरिकको घरदैलोमै पुग्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराए।
उनका अनुसार त्यही प्रतिबद्धताका आधारमा विशेषगरी मधेसका मतदाताले वालेन्द्र साहलाई अभूतपूर्व जनसमर्थन दिएका थिए। त्यसैले अहिले कार्यकारी नेतृत्वमा पुगेपछि प्रधानमन्त्री साहले संघीयतालाई थप सुदृढ बनाउने दिशामा काम गर्नुपर्ने उनको भनाइ थियो।
“कार्यकारी अधिकार अहिले प्रधानमन्त्रीको हातमा छ। प्रदेश सभा वा संघीयता खारेज गर्ने दिशामा होइन, संघीयतालाई कसरी बलियो बनाउने भन्नेमा सरकार केन्द्रित हुनुपर्छ,” उनले भने।
सांसद खालिदले अझै पनि कतिपय जातजाति र समुदाय संविधानले सुनिश्चित गरेका अधिकारबाट पूर्ण रूपमा लाभान्वित हुन नसकेको उल्लेख गर्दै संघीयताको प्रभाव गाउँ-गाउँ र सबै समुदायसम्म पुर्याउने जिम्मेवारी सरकारको रहेको बताए।
उनले संघीय व्यवस्थाप्रति सरकार स्पष्ट र दृढ रूपमा उभिनुपर्नेमा जोड दिँदै संघीयता कार्यान्वयनलाई कमजोर बनाउने कुनै पनि प्रयासबाट सरकार पछि हट्न नहुने धारणा व्यक्त गरे।