arrow

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
upper-house-samsad.jpg

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकाहरूलाई पार्टी सदस्यता दिएर संविधान र प्रचलित कानूनको गम्भीर उल्लङ्घन गरेको भन्दै कडा आपत्ति जनाएका छन्।

सोमबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरू चन्द्रबहादुर केसी र जगत तिमिल्सिनाले रास्वपाले संविधान, घरेलु कानून तथा अन्तर्राष्ट्रिय कानूनको समेत उल्लङ्घन गर्दै ३५ हजारभन्दा बढी बालबालिकाहरूलाई पार्टीको सदस्यता वितरण गरेको दाबी गर्दै असन्तुष्टि व्यक्त गरे।

सांसद चन्द्रबहादुर केसीले एकातिर विद्यार्थी युनियनहरू खारेज गर्ने वकालत गर्ने रास्वपाले अर्कोतिर आफैँले १८ वर्षभन्दा मुनिका बालबालिकालाई पार्टी सदस्यता दिएर हिँडाउनु विरोधाभासपूर्ण भएको टिप्पणी गरे। सुकुम्बासीहरूलाई सुरक्षित सेल्टरबाट धपाइएका कारण उनीहरूको बिचल्ली भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, "विद्यार्थी युनियनहरू खारेज गर्ने, अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्षभन्दा मुनिका ३५ हजारभन्दा बढी युवा (बालबालिका) लाई आफ्नो पार्टीको सदस्य बनाएर हिँडाउने, के यो विरोधाभास भएन र? यसमा सम्बन्धित निकायको ध्यानाकर्षण होस्।"

त्यस्तै, अर्का सांसद जगत तिमिल्सिनाले नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन र नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय कानूनले समेत १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक पार्टीको सदस्यता दिन पूर्ण रूपमा निषेध गरेको स्मरण गराए। कान्तिपुर दैनिकमा प्रकाशित समाचारको हवाला दिँदै उनले भने, "सत्तारुढ रास्वपा स्वयंले १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टी सदस्य बनाएको कुरा सार्वजनिक भएको छ। यसरी नेपालको संविधान र अन्तर्राष्ट्रिय कानूनसमेत उल्लङ्घन गरिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोग लगायतका सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।"

सांसद तिमिल्सिनाले सत्तारुढ दलबाटै संविधानविपरीतका यस्ता गतिविधि हुँदा समेत सरकारले कुनै चासो नदिएको भन्दै जिकिर गरे। कानूनले निषेध गरेको यस्तो संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनै पनि बहानामा छुट हुन नहुने उनीहरूको माग थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ