संसद्मा जवाफ दिन प्रधानमन्त्रीलाई एमाले सांसदको माग, पौडेलमाथिको अनुसन्धानप्रति आपत्ति
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
185
Shares
काठमाडौँ । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गरेकी छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिद्धिकीले प्रतिनिधि सभा नियमावली, २०८३ अनुसार प्रत्येक सांसदलाई प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने अधिकार रहेको स्मरण गराउँदै सरकार संसद् र जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्रीका पछिल्ला सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले भनिन्, "प्रधानमन्त्री सडकको होइन, देश र नेपाली जनताको प्रधानमन्त्री हो। उहाँ संसद्मा आएर देशको गरिमा र जनताको सम्मानका विषयमा स्पष्ट धारणा राख्नुपर्छ।" सांसदहरूले सरकारलाई खबरदारी मात्र नभई सफल बनाउन पनि भूमिका खेल्ने उल्लेख गर्दै उनले वर्तमान सरकार संसद्प्रति कमजोर बन्दै गएको टिप्पणी गरिन्। सरकारले आफ्ना काम शतप्रतिशत सफल भएको दाबी गरे पनि जनताले पाउनुपर्ने मौलिक हक, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय लक्ष्य कार्यान्वयन गर्न सरकार चुकेको उनको आरोप छ।
बैठकमा सांसद सिद्धिकीले एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलमाथि भइरहेको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानको प्रसंग उठाउँदै पर्याप्त प्रमाणबिना म्याद थप्दै हिरासतमा राख्नु उचित नभएको दाबी गरिन्। यदि अनुसन्धानका क्रममा कुनै प्रमाण फेला परेन भने उपाध्यक्ष पौडेलको सामाजिक सम्मान र मानहानिको जिम्मेवारी सरकारले लिन सक्छ कि सक्दैन भनी उनले कडा प्रश्न समेत गरेकी छन्।