हवाई क्षेत्रमा तत्काल लगानी गर्ने अवस्था छैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
252
Shares
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगमा सरकारले तत्काल ठूलो लगानी गरेर अघि बढ्न सक्ने अवस्था नरहेको बताएका छन्।
उनले हवाई उद्योगलाई सुदृढ नगरी पर्यटन र समग्र मुलुकको विकास सम्भव नहुने भन्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरोकारवालासँग गहन छलफल अघि बढाइने बताएका छन्।
सोमबार मन्त्रालयमा आयोजित ‘नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा’ विषयक संवाद कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा हवाई क्षेत्र अपेक्षाभन्दा जटिल रहेको अनुभव गरेको बताए।
उनले पर्यटन प्रवर्द्धनका लागि हवाई सेवा अपरिहार्य भए पनि सरकार आफैँले तत्काल आवश्यक लगानी गर्न सक्ने अवस्थामा नरहेको स्पष्ट पारे।
“नेपाल भूपरिवेष्ठित देश भएकाले हवाई उद्योगको भूमिका अत्यन्त महत्वपूर्ण छ। तर सरकार आफैँले चाहेर तत्काल ठूलो लगानी गरिहाल्ने अवस्था छैन। तीन महिनाको अनुभवले यो क्षेत्र निकै जटिल रहेको महसुस गरेको छु,” मन्त्री पौडेलले भने।
उनले हवाई उद्योगलाई सुदृढ बनाउन सरकार नीतिगत सुधार, सरोकारवालासँगको बहस र आवश्यक सहकार्यमा केन्द्रित हुने बताए।
मन्त्री पौडेलले युरोपेली संघले नेपाली वायुसेवालाई आफ्नो आकाशमा लगाएको प्रतिबन्ध हटाउन सरकार प्रतिबद्ध रहेको पनि बताए।
त्यसका लागि नीतिगत, कानुनी र हवाई सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनको भनाइ थियो।
“ईयूको प्रतिबन्ध हटाउन हामीले कानूनी, नीतिगत र सुरक्षा सम्बन्धी मापदण्ड पूरा गर्दै अघि बढ्नुपर्छ,” उनले भने।
कार्यक्रममा नेपाल वायुसेवा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले आर्थिक अभावका कारण नेपालको हवाई उड्डयन क्षेत्रमा सुरक्षासम्बन्धी चुनौती बढ्दै गएको बताए।
उनले निगमले हवाई सुरक्षा सुदृढ बनाउन आवश्यक पूँजीका लागि लामो समयदेखि सरकारसँग माग गर्दै आएको उल्लेख गर्दै उपलब्ध सीमित स्रोत-साधनको अधिकतम उपयोग गर्दै सेवा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए।
“हामीले सरकारसँग पूँजी लगानीको माग निरन्तर गर्दै आएका छौँ। उपलब्ध स्रोत-साधनको अधिकतम प्रयोग गर्दै सुरक्षा र नियामक निकायले तोकेका मापदण्डअनुसार सेवा सञ्चालन गरिरहेका छौँ,” कालाखेतीले भने।
उनले पर्याप्त स्रोत-साधन र लगानीको व्यवस्था गर्न सके मात्रै नेपालको हवाई सुरक्षालाई अझ भरपर्दो र दिगो बनाउन सकिने धारणा व्यक्त गरे।