वायुसेवा निगमलाई उकास्न निजी क्षेत्रको सहभागितासहितको मोडल खोजी हुँदै
यो बेथितिको भङ्गालो बन्यो: मन्त्री पौडेल
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
176
Shares
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको अवस्था दयनीय बन्दै गएको भन्दै यसलाई माथि उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको बताएका छन्। निगम दुर्गतिमा फसेको उल्लेख गर्दै उनले यसलाई सुधार गर्न सरकारले संरचनागत रूपमा नै आमूल परिवर्तनका लागि राष्ट्रिय बहसमार्फत उपयुक्त विकल्प खोजिरहेको बताएका हुन्।
बुधबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री पौडेलले निगमलाई पखेटा घाइते भएको चराको संज्ञा दिँदै निजी क्षेत्रको सहभागितासहित यसलाई अघि बढाउन सरकार प्रयासरत रहेको जानकारी दिए।
निगमको वर्तमान वित्तीय अवस्था निकै चिन्ताजनक रहेको विवरण प्रस्तुत गर्दै मन्त्री पौडेलले यसको समस्या बजेटले मात्र सम्बोधन गर्न नसक्ने स्पष्ट पारे। निगममाथि हाल ६५ अर्बभन्दा बढीको ऋण भार रहेको र वर्षैपिच्छे २ अर्बभन्दा बढी ऋण थपिँदै गइरहेकाले यो संस्था बेथितिको भङ्गालो बनेको उनको भनाइ छ। यो सबै समस्याबाट पार पाउनका लागि सरकारले रणनीतिक रूपमा काम गरिरहेको भन्दै उनले चुनाव अघि र पछि पनि सरकारले निगमको सुदृढीकरणलाई प्राथमिकतामा राखेको उल्लेख गरे।
निगमलाई पुनर्जीवन नदिई देशको पर्यटनको दिगो विकास असम्भव रहने ठहर गर्दै मन्त्री पौडेलले पखेटा घाइते भएको चराबाट लामो उडानको अपेक्षा गर्न नसकिने यथार्थ खुलाए। यसको प्रगतिका लागि आमूल संरचनागत तथा नीतिगत सुधार गरेर निजी क्षेत्रको सहभागितासहित उकास्ने मोडलमा जाने प्रयास भइरहेको उनले संसद्लाई जानकारी दिए।
यस क्रममा निगमलाई सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा लैजाँदा उपयुक्त हुन्छ कि अरू कुनै मोडलमा भन्नेबारे राष्ट्रिय बहसमार्फत साझा निष्कर्ष निकालिनेछ। सरकारले हतारमा भन्दा पनि दीर्घकालीन हितलाई ध्यानमा राखेर निजी क्षेत्रसहितको सहभागिता सुनिश्चित हुने गरी नेपाल वायुसेवा निगमलाई सङ्कटमुक्त बनाउने योजना तर्जुमाको कामलाई अगाडि बढाएको उनले स्पष्ट पारे।