रास्वपालाई टक्कर दिन छ वर्षपछि ओली, प्रचण्ड र नेपालको कसरत
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
425
Shares
काठमाडौँ । मुलुकको बदलिएको राजनीतिक परिदृश्यमा दुई-तिहाइ बहुमतसहित सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई टक्कर दिन शिथिल बनेको कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध बनाउने कसरत शुरू भएको छ। यसै रणनीति अन्तर्गत विगतमा तीव्र मतभेदका कारण विभाजित भएका शीर्ष कम्युनिष्ट नेताहरू ६ वर्षपछि पहिलो पटक एउटै मञ्चमा देखिँदै छन्।
तत्कालीन नेकपा (एमाले) का महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ (जबज) का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीको अवसर पारेर आज आइतबार कम्युनिष्ट शक्तिहरू एकै ठाउँमा उभिन लागेका हुन्। विगतमा शक्तिशाली रहेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको व्यक्तिगत अहम् र शक्ति सङ्घर्षका कारण पार्टी दुई-तीन टुक्रामा विभाजित भएको थियो।
जेन-जी आन्दोलनपछि अहिले संसद् र सत्तामा रास्वपाको बलियो दबाब छ। त्यही दबाबलाई चिर्न र संसद्मा रास्वपाको दुई-तिहाइ शक्तिको काउन्टर गर्न कम्युनिष्टहरू फेरि सहकार्य र ध्रुवीकरणको प्रक्रियामा आउन बाध्य भएका हुन्।
छरिएर रहेका यी शीर्ष कम्युनिष्ट नेताहरूलाई आपसी असमझदारी बिर्साएर एउटै मञ्चमा ल्याउन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुख्य मध्यस्थकर्ता (घोल हाल्ने काम) को भूमिका खेलेकी छिन्। मदन भण्डारी फाउन्डेसनद्वारा आज दिउँसो १:३० बजे काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरिएको विशेष विमर्श कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी मुख्य अतिथिका रूपमा उपस्थित हुँदै छिन्।
कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल, पूर्वप्रधानमन्त्री नेपाल, नेपाली कम्युनिष्ट पार्टीका नेता खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सहभागी हुनेछन्।
तत्कालीन नेकपाका यी प्रभावशाली नेताहरूले मञ्चबाटै वर्तमान राजनीतिक चुनौती र कम्युनिष्ट एकताको आवश्यकताका विषयमा संयुक्त बहस गर्ने कार्यतालिका छ। रास्वपाको बढ्दो प्रभावका बीच हुन लागेको कम्युनिष्ट नेतृत्वको यो संयुक्त उपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।