तेह्र सय बढी प्रतिनिधि भोट नहाली फर्किए घर: पदाधिकारी निर्वाचन नहुने सम्भावना, रविले सिधै नाम पढ्ने तयारी
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
409
Shares
काठमाडौँ । चितवनमा जारी सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन चरम अव्यवस्थित र भद्रगोल बनेको छ। महाधिवेशन कार्यतालिका भन्दा अत्यधिक लम्बिएपछि देशभरबाट आएका एक हजार तीन सय ५२ जना महाधिवेशन प्रतिनिधिहरू मतदान प्रक्रियामै सहभागी नभई आ-आफ्नो घर फर्किएका छन्।
महाधिवेशनमा सहभागिता र व्यवस्थापनको कमजोरीका कारण सिर्जना भएको अन्योलबिच अब पार्टीका शीर्ष पदाधिकारीहरूको निर्वाचन समेत नहुने सम्भावना बढेको छ। महाधिवेशनमा सहभागी रास्वपाका एक वरिष्ठ नेताका अनुसार निर्वाचन प्रक्रिया लम्बिने र विवाद झन् चुलिने देखिएपछि सहमतिमै पदाधिकारी चयन गरी सभापति रवि लामिछानेले सिधै नाम घोषणा गर्ने (पढ्ने) तयारी गरिरहेका छन्।
"पदाधिकारी चुनाव होला जस्तो देखिन्न। प्रतिनिधिहरू थकाई र ढिलाइले गर्दा धमाधम हिँडे, सबैलाई दुःख भयो, अब किन चुनाव गराइराख्नु भनेर सभापतिज्यूले आफैँ नाम पढ्ने आन्तरिक तयारी गरिरहनुभएको छ," ती नेताले बताए।
पार्टीको ९९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि भएको आन्तरिक निर्वाचनमा समेत उत्साहजनक मत खसेन। कुल ४ हजार ३ सय ११ जना प्रतिनिधिहरूमध्ये जम्मा २ हजार ९ सय ५९ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ। मतदान अपारदर्शी र व्यवस्थापन फितलो भएको भन्दै केन्द्रीय सदस्यका कतिपय उम्मेदवारहरूले नै निर्वाचनमा षड्यन्त्र र संस्थापन पक्षबाट प्यानलबाजी गरिएको गम्भीर आरोप समेत लगाएका छन्।
केन्द्रीय सदस्यकै चुनावलाई लिएर असन्तुष्टि चुलिएका बेला पदाधिकारी चयन प्रक्रियालाई विवादरहित बनाउन भन्दै निर्वाचन नै नगरी नेतृत्व तोक्ने गृहकार्यमा सभापति लामिछाने लागेका हुन्। यसले गर्दा रास्वपाको पहिलो महाधिवेशन लोकतान्त्रिक अभ्यासभन्दा पनि विवाद र भद्रगोलको भुमरीमा फसेको विश्लेषण गर्न थालिएको छ।