रास्वपा महाधिवेशनमा बालेनको सचिवालयका तीन जनाको उम्मेदवारी
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
296
Shares
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र साह बालेनको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ ।
प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार बालेनका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीकी स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएकी हुन् ।
राजनीतिक सल्लाहकार शाहले खुला मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिएका हुन् । शाहलाई तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रुपमा हेरिन्छ । उनले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सबैभन्दा पहिले सांसद पदबाट राजीनामा दिएका थिए ।
शाहले जेन-जी आन्दोलनको मर्मअनुसार वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी राजनीतिज्ञ मात्र नभई चलचित्र निर्देशक, निर्माता तथा सञ्चारकर्मीका रूपमा पनि परिचित छन् ।
प्रधानमन्त्रीका निकट राजनीतिक सहयात्रीका रूपमा चिनिने शाह पछिल्लो समय सरकारको राजनीतिक तथा रणनीतिक सल्लाहकारका रूपमा सक्रिय हुन् । वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय, नीतिगत बहस, राजनीतिक संवाद तथा सङ्गठन विस्तारका विषयमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
यसैगरी सुदीप ढकालले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको प्रेस संयोजक बजगार्इंले जानकारी दिए । सार्वजनिक चर्चाभन्दा कार्यसम्पादनमा विश्वास गर्ने ढकाल पछिल्लो समय पार्टी समायोजन, सुशासन अभियान तथा प्रशासनिक सुधारका महत्वपूर्ण अभियानमा नेपथ्यबाट सक्रिय भूमिका निर्वाह गर्दै आएका व्यक्तिका रुपमा चिनिन्छन् ।
उनी काठमाडौँ महानगरपालिकामा पनि सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा साहसँगै कार्यरत थिए । उनले महानगरपालिकामा सूचना प्रणाली विकास, ‘डिजिटल’ प्रशासन तथा ‘डाटा’मा आधारित निर्णय प्रक्रियालाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । महानगरभित्र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानमा उनको योगदान उल्लेखनीय थियो ।
ढकालले जेन-जी आन्दोलनपछिको राजनीतिक पुनर्संरचना र सहकार्य प्रक्रियामा प्रमुख सूत्रधारका रूपमा काम गरेका थिए । वालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको समन्वय तथा संवाद प्रक्रियामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । यही कारणले पनि उनी पार्टीभित्र रणनीतिक योजनाकार र समन्वयकर्ताका रूपमा परिचित छन् ।
प्रेस सहजकर्ता बजगाईंका अनुसार स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापनमा लामो समयदेखि सक्रिय रहँदै आएकी ढकाललाई रास्वपाभित्र नीतिगत विषयमा दक्ष युवा नेतृत्वका रूपमा चिनिन्छ ।
ढकाल सार्वजनिक नीति, रणनीतिक योजना तथा अन्तरमन्त्रालय समन्वयका क्षेत्रमा काम गरिरहेकी छिन् ।
उनले हालै बेलायतको प्रतिष्ठित शैक्षिक संस्था ‘लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स’बाट ‘विश्व स्वास्थ्य नीति’ विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी नेपाल फर्किएकी हुन् । उक्त अध्ययनमा उनले उत्कृष्ट नतिजासहित विशिष्ट श्रेणी हासिल गरेकी छिन् ।