arrow

रास्वपा सांसदको उन्माद

पाहुनालाई ‘भ्रष्टाचारी र आतङ्ककारी’ भन्ने सांसद खगेन्द्र सुनारलाई कारबाही हुन सक्छ: मनिष झा [भिडियो]

“आफैँले बोलाएको पाहुनालाई गैरराजनीतिक टिप्पणी गर्नु हुँदैन, त्यो गलत हो”

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
manish-jha-09-03.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उद्घाटन समारोहमा निम्त्याइएका पाहुनाबारे सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्ति गलत भएको भन्दै पार्टी प्रवक्ता मनिष झाले आपत्ति जनाएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै झाले पार्टीले बोलाएर ल्याइएका अतिथिप्रति सम्मानजनक व्यवहार हुनुपर्ने बताए। “आफैँले बोलाएको पाहुनालाई गैरराजनीतिक टिप्पणी गर्नु हुँदैन, त्यो गलत हो,” उनले भने।

उनका अनुसार राजनीतिक मूल्यांकन र टिका-टिप्पणी गर्ने स्थान निश्चित हुने भएकाले निमन्त्रित अतिथिलाई अपमान गर्ने शैली स्वीकार्य हुँदैन।

झाले थपे, “पाहुनालाई बोलाइसकेपछि निश्चित दायरामा सम्मान व्यक्त गर्नुपर्छ। घरमै बोलाएर आलोचना गर्नु गलत हो।”

उनले सांसद सुनारको अभिव्यक्तिबारे महाधिवेशनले चयन गर्ने नयाँ समितिले आवश्यक निर्णय गर्ने जानकारी दिए।

यसअघि सांसद सुनारले चितवनमा जारी महाधिवेशनको उद्घाटन समारोहमा अन्य दलका प्रतिनिधिहरूलाई लक्षित गर्दै उनीहरूलाई “भ्रष्टाचारी र आतङ्ककारी” भनेर टिप्पणी गरेका थिए।

उनले पार्टी सभापति रवि लामिछानेले आलोचनात्मक सन्देश दिनकै लागि उनीहरूलाई स्टेजमा राखिएको जस्तो अभिव्यक्ति पनि दिएका थिए।

सुनारले पत्रकारहरूसँगको कुराकानीमा अझै कडा भाषा प्रयोग गर्दै निम्त्याइएका पाहुनाले अनुशासन नदेखाएको आरोप लगाए।

“निम्तो दिएर बोलाएको पाहुनाले त्यहीँ हल्ला गरेर निहुँ खोजेपछि के हुन्छ?” भन्दै उनले प्रश्न गरेका थिए।

उनले राजनीतिक दलका प्रतिनिधिलाई लक्षित गर्दै व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गर्दै भने, “रोगीहरूले वरिष्ठ डाक्टरलाई सल्लाह दिन जरुरी छैन।” साथै उनले पार्टी नेतृत्व र नतिजालाई जनमतले प्रमाणित गरेको भन्दै आलोचनालाई स्वीकार नगर्ने संकेतसमेत दिएका छन्।

उद्घाटन समारोहमा भएको विवाद र सांसद सुनारको अभिव्यक्तिले रास्वपा महाधिवेशनमै राजनीतिक शिष्टाचार र अतिथि सम्मानबारे बहस चर्किएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ