चितवन । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा एक दिन ढिलो गरी समापन हुने भएको छ ।
प्रतिनिधिको अपेक्षाभन्दा बढी सहभागिता र व्यवस्थापकीय चुनौतीका कारण महाधिवेशन भदौ १० गतेसम्म लम्बिने देखिएको हो ।
महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद तथा नेता मनिष झाले सुरुमा तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको भए पनि हाल चार हजार तीन सयभन्दा बढी प्रतिनिधि उपस्थित भइसकेको र यो संख्या चार हजार आठ सयसम्म पुग्न सक्ने बताएका छन् । उनका अनुसार प्रवासबाट समेत अपेक्षाभन्दा चार गुणा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।
झाले पहिलो महाधिवेशन भएकाले केही व्यवस्थापकीय कमजोरी र कार्यविधिगत चुनौती देखिएको स्वीकार गर्दै त्यसलाई सिकाइका रूपमा लिइएको बताएका छन् ।
उनले पार्टीभित्र सहमतिको प्रयास जारी रहेको र सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमा जाने तयारी रहेको जानकारी दिएका छन् ।
हाल प्रतिनिधि दर्ता प्रक्रिया जारी रहेको र छुटेका प्रतिनिधिहरूलाई समेट्न छुट्टै टोली परिचालन गरिएको पनि उनले बताएका छन् ।
यसैबीच, झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सुरुमा केही द्विविधा रहे पनि अहिले आफू मानसिक रूपमा तयार भइसकेको उनको भनाइ छ ।
उनले भने, ‘हामीले ९ गते नै सबै कार्यक्रम सक्ने लक्ष्य राखेका थियौँ । तर प्रतिनिधिको ठूलो संख्या र उम्मेदवारीमा धेरैको आकांक्षाका कारण महाधिवेशन १० गतेसम्म लम्बिन सक्नेमा हामी पहिले नै मानसिक रूपमा तयार थियौँ । राजनीतिमा लागेपछि थप चुनौती लिन तयार हुनुपर्छ । पार्टीको आगामी दुई निर्वाचनको तयारी र देशले राखेको अपेक्षालाई सम्बोधन गर्न महामन्त्रीको जिम्मेवारी महत्त्वपूर्ण छ । मैले आफ्नो क्षमता, पृष्ठभूमि र साथीहरूको सल्लाहका आधारमा यस पदका लागि आफूलाई योग्य ठानेको छु ।’
महामन्त्री पदलाई ठूलो जिम्मेवारी र जोखिमका रूपमा व्याख्या गर्दै उनले आफू पदसँग न्याय गर्न सक्ने आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रने निर्णय गरेको बताएका छन् ।
चर्को गर्मी र व्यवस्थापकीय असहजताका बाबजुद पनि कार्यकर्ताहरूको सहभागिता उत्साहजनक रहेको उनको भनाइ छ ।