रास्वपा महाधिवेशन: बन्दसत्र शुरू हुँदै, यस्तो छ सांगठनिक र निर्वाचन कार्यतालिका
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
276
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज बिहान ८:३० बजेदेखि चितवनको भरतपुरस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा शुरू हुँदैछ। प्रदर्शनी केन्द्रमा रहेका तीन ठुला हलमध्ये दुईवटा हल बन्दसत्रका लागि र एउटा हल प्रतिनिधिहरूको खाजा तथा खाना व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको छ। महाधिवेशनको यस बन्दसत्रमा रास्वपाका कुल ४ हजार २११ जना प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकहरू सहभागी हुँदैछन्।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आजको बन्दसत्र विभिन्न सांगठनिक प्रतिवेदनहरूको प्रस्तुति र छलफलबाट शुरू हुनेछ। सबैभन्दा पहिले बिहान ८:३० बजे अनुशासन आयोगका प्रमुख रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। त्यसलगत्तै बिहान ९:०० बजे कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन र बिहान १०:०० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरी त्यसमाथि छलफल चलाइनेछ। बिहान १०:४५ बजे पार्टीका सहमहामन्त्रीले विधानमाथिको परिमार्जन प्रस्ताव छलफलका लागि प्रस्तुत गरी अनुमोदन गराउनेछन् भने बिहान ११:४५ बजे पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। मध्यान्ह १२:४५ बजे सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरेसँगै महाधिवेशन आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई बुझाउनेछ।
दिउँसो १:०० बजेको दिवाभोज (खाना) पश्चात् केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रियाको औपचारिक थालनी गर्नेछ। निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजै उम्मेदवारहरूको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मको काम टुङ्ग्याइनेछ। दिउँसो १:०० बजेपछि उम्मेदवार मनोनयनका लागि फारम वितरण शुरू हुनेछ भने दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म उम्मेदवारहरूको मनोनयन दर्ता गरिनेछ। साँझ ६:०० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरेर ६:०० बजेदेखि ७:०० बजेसम्म दाबी–विरोधका लागि समय दिइनेछ। प्राप्त दाबी–विरोधमाथि राति ७:०० बजेदेखि ९:०० बजेसम्म जाँचबुझ गरिनेछ र उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि राति ९:१५ बजेसम्मको अन्तिम समय तोकिएको छ। उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन आजै राति ११:०० बजे गरिनेछ।
महाधिवेशनको मुख्य निर्वाचन भने भोलि असार ९ गते मङ्गलवार हुनेछ। मङ्गलवार बिहान ८:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म पहिलो चरणको मतदान हुनेछ, जसबाट १ जना सभापति र ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। मतदान सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मत गणना र परिणाम घोषणा गरिनेछ र त्यसलगत्तै दोस्रो चरणको मतदान प्रक्रिया अगाडि बढाइनेछ। महाधिवेशन प्रतिनिधि एवं केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दुवै दिन सहभागीहरूका लागि खानाको व्यवस्था सोही प्रदर्शनी केन्द्रमै मिलाइएको छ। यसअघि शनिबार महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेष्टहाउस चौरमा भव्य रूपमा सम्पन्न भएको थियो।