रास्वपा भनेकै रवि र रवि भनेकै रास्वपा : शंकर पोखरेल
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
319
Shares
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन परिणामलाई लिएर रास्वपा अझै संगठनात्मक रूपमा परिपक्व राजनीतिक दल बन्न नसकेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले महाधिवेशनको नतिजाले रास्वपा व्यक्तिकेन्द्रित दल भएको पुष्टि गरेको दाबी गरे।
उनले विगतमा रास्वपाले उठाएको ‘नो भोट’को बहस स्मरण गर्दै लेखेका छन्, ‘हिजो ‘नो भोट’को चर्को वकालत गर्ने रास्वपाका साथीहरूले चितवन महाधिवेशनको चुनावी परिणाम हेर्नुभयो? ‘नो भोट’को व्यवस्था हुन्थ्यो भने पदाधिकारीमा रवि र केन्द्रीय सदस्यमा जम्मा नौ जना मात्र चुनिने रहेछन्।’
पोखरेलले यसैलाई आधार बनाउँदै ‘रास्वपा भनेकै रवि र रवि भनेकै रास्वपा’ भएको टिप्पणी गरेका छन्।
उनका अनुसार महाधिवेशनको परिणामले रास्वपा संगठनभन्दा व्यक्तिको प्रभावमा आधारित दल भएको देखाएको छ।
‘यसले प्रमाणित गर्छ- रास्वपा भनेकै रवि र रवि भनेकै रास्वपा हुन्। रास्वपा संगठनात्मक रूपमा पार्टी बन्न त बाँकी नै रहेछ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
रास्वपाको प्रथम महाधिवेशनको निर्वाचन परिणाम सार्वजनिक भएपछि विभिन्न राजनीतिक दलका नेताहरूले त्यसबारे आ-आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्।