मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
206
Shares
काठमाडौँ । शान्तिका लागि सामूहिक अभियान (कोक्याप)ले मानव अधिकार रक्षकहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
आइतबार कोक्यापले आयोजना गरेको मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्प भुसालले उक्त माग गरेका हुन् ।
उनले चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि मानव अधिकार रक्षकहरूले लोकतन्त्र, जवाफदेहिता, विधिको शासन तथा मानव अधिकार संरक्षणमा महत्वपूर्ण र साहसिक भूमिका निर्वाह गरिरहेको बताए ।
उनका अनुसार मानव अधिकार रक्षकहरूको सुरक्षा तथा संरक्षण सुनिश्चित गर्नु राज्य, नागरिक समाज र सरोकारवाला सबै पक्षको साझा जिम्मेवारी हो ।
भुसालले मानव अधिकार रक्षक संरक्षण नीति हालसम्म स्वीकृत हुन नसकेको उल्लेख गर्दै तत्काल स्वीकृत गरी कार्यान्वयनमा ल्याउन माग गरे ।
उक्त नीति देशभर विभिन्न क्षेत्र, भूगोल र समुदायमा कार्यरत मानव अधिकार रक्षकहरूको सुरक्षा तथा संरक्षणका लागि अत्यन्त महत्वपूर्ण आधार हुने उनको भनाइ छ ।
उनले राष्ट्रिय मानव अधिकार आयोगद्वारा मस्यौदा गरिएको मानव अधिकार रक्षकको संरक्षण, सुरक्षा र पहिचान तथा सम्मानसम्बन्धी नमूना कानूनलाई पनि छिटो स्वीकृत गरी कार्यान्वयनमा ल्याउन आग्रह गरे ।
भुसालले भने, “देशको समग्र राजनीतिक र सामाजिक मानव अधिकारको अवस्था जटिल बन्दै गएको तथा नागरिक स्पेस क्रमशः खुम्चिँदै गएको वर्तमान परिस्थितिमा मानव अधिकार रक्षकहरूले लोकतन्त्र, जवाफदेहिता, विधिको शासन र मानव अधिकार संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। यस्तो सन्दर्भमा उनीहरूको सुरक्षा र संरक्षण सुनिश्चित गर्नु अत्यन्त आवश्यक र साझा जिम्मेवारी हो । मानव अधिकार रक्षक संरक्षण नीति अझै पेन्डिङ अवस्थामा रहेको छ । यो नीति देशभर सबै क्षेत्र, भूगोल र विविध समुदायमा कार्यरत मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि अत्यन्त महत्वपूर्ण आधार हो । त्यसैले यसलाई छिटोभन्दा छिटो स्वीकृत गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न मानव अधिकार समुदाय, राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज तथा सरोकारवालाले गम्भीरता र तदारुकतासाथ अघि बढ्न आवश्यक छ ।”
उनले न्यायप्रतिको प्रतिबद्धताका बाबजुद पनि मानव अधिकार रक्षकहरू अझै गम्भीर जोखिम, उत्पीडन, प्रणालीगत धम्की तथा कतिपय अवस्थामा भौतिक हिंसाको छायाँमा काम गर्न बाध्य रहेको बताए ।
भुसालले डर, त्रास वा हस्तक्षेपबिना स्वतन्त्र रूपमा मानव अधिकारको रक्षा गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । उनले नागरिक अधिकार खुम्चिँदै गएको वर्तमान अवस्थामा मानव अधिकार रक्षकहरूको भूमिका अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गरे ।