करको उपयोग जनमत प्राप्त सरकारले विवेकपूर्ण ढङ्गले गर्छ : अर्थमन्त्री वाग्ले
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
175
Shares
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले मुलुक र नागरिकको हितका लागि करको उपयोग अत्यन्तै विवेकपूर्ण ढङ्गले गर्ने बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा ‘आर्थिक विधेयक, २०८३’ माथि सांसदहरूले उठाएका विविध प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो धारणा राखेका हुन्। अर्थमन्त्री वाग्लेले सार्वभौम संसद्ले आवश्यक ठानेर निर्देशन दिएमा सरकारले विशेष खालको बजेटको व्यवस्था गर्न समेत तयार रहेको स्पष्ट पारे।
सङ्कलन भएको राजस्व र त्यसको विनियोजनबारे प्रष्ट पार्दै अर्थमन्त्री वाग्लेले भने, ‘सयौँ, हजारौँ स्रोतहरूबाट कर उठाउन सकिन्छ। र यसरी उठाइएको कर यो प्रयोजनका लागि मात्रै उपयोग गर्न सकिने भनेर ‘इयर मार्किङ’ (प्रयोजन तोक्ने) पनि गर्न सकियो। तर, त्यसले प्रशासनिक र कानुनी जटिलताहरू पनि निम्त्याउँछ। त्यसैले हजारौँ ठाउँबाट उठाइएका करहरू एउटै सञ्चित कोषमा गएर जम्मा हुन्छन् र जनमत प्राप्त सरकारले त्यसको विवेकपूर्ण उपयोग गर्छ।’
उनले पूर्वाधारका नाममा उठाइएको कर कसरी उपयोग हुन्छ भन्ने उदाहरण दिँदै बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा र क्षतिपूर्तिका लागि ४३ अर्ब रुपैयाँ बाँडिएको स्मरण गराए। यसका लागि बुढीगण्डकीको छुट्टै डालो (कोष) बनाइरहनु आवश्यक नरहेको उनको भनाइ थियो।
त्यस्तै, प्रदूषण करको प्रसङ्ग उठाउँदै उनले प्रदूषणको नाममा उठाइएको कर वातावरण मन्त्रालय, वातावरण विभाग र स्वास्थ्य मन्त्रालयको वार्षिक बजेट विनियोजनमार्फत नै प्रतिबिम्बित भइरहेको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले प्रशासनिक तथा कानुनी अड्चन नआउने गरी राज्यको संयन्त्रलाई चुस्त राख्दै करको सही र न्यायोचित सदुपयोग गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको संसद्लाई आश्वस्त पारे।