चिया किसान र श्रमिकका समस्या तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन
नगदेबालीका लागि कानून ल्याउन माग
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
240
Shares
काठमाडौँ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समितिको बैठकले चिया क्षेत्रमा देखा परेका गम्भीर समस्याहरूलाई अविलम्ब सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै यस्तो निर्देशन दिएको हो।
समिति सभापति कृष्णप्रसाद पौडेलले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैँची, सुपारी, बेसार, अदुवा, कफी लगायतका अन्य नगदेबालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे। नगदेबाली उत्पादन गर्ने किसानहरूले उचित मूल्य र सुनिश्चित बजार पाउन नसकेको भन्दै उनले यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकासका लागि आवश्यक कानूनी व्यवस्था गर्न समेत सरकारसमक्ष माग गरे।
बैठकमा बोल्दै सभापति पौडेलले भने, ‘चिया किसान र चिया बगानमा काम गर्ने श्रमिकहरूको समस्या तुरुन्त समाधान गर्नका लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिको तर्फबाट निर्देशन पनि दिन चाहन्छु। अन्य नगदेबालीहरू अलैँची, सुपारी, बेसार, अदुवा, कफी आदिको मूल्य निर्धारण र बजार व्यवस्थापन गर्नका लागि समेत सरकारले काम गरोस्। यी नगदेबालीहरूको बजार व्यवस्थापनका लागि यही अधिवेशनभित्र एउटा कानून पनि ल्याउन म आग्रह गर्न चाहन्छु।’
विगत ४ दिनदेखि इलाम लगायत देशभरिका चिया उद्योगीहरूले चिया निर्यातमा विभिन्न समस्याहरू देखिएको भन्दै आफ्ना उद्योगहरू ठप्प पारेका छन्। उद्योगहरू बन्द हुँदा चिया बगानमा आश्रित हजारौँ किसान र श्रमिकहरू प्रत्यक्ष मारमा परेका बेला संसदीय समितिले यस्तो कदम चालेको हो।