तीन समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
358
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीन ओटा महत्वपूर्ण संसदीय समितिका बैठकहरू बस्दैछन्। आज बैठक बस्ने समितिहरूमा महिला तथा सामाजिक मामिला समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन्।
आजको पहिलो बैठक बिहान ९:०० बजे महिला तथा सामाजिक मामिला समितिको बस्दैछ। सिंहदरबारस्थित समितिको आफ्नै सभाकक्षमा बस्ने उक्त बैठकमा समितिको तर्फबाट गरिने स्थलगत अनुगमन भ्रमणका सम्बन्धमा विस्तृत छलफल गरिने कार्यसूची तय गरिएको छ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:०० बजेका लागि बोलाइएको छ। यस बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा वार्षिक कार्यक्रमका विषयमा मन्त्रालयका पदाधिकारीहरूसहित सघन छलफल हुनेछ।
राष्ट्रिय सभाकै अन्तर्गत रहेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११:०० बजे नै बस्ने कार्यसूची छ। यस समितिको बैठकमा आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी तथा त्यसको व्यवस्थापकीय पाटोका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल गरिने जनाइएको छ।