एल–निनोको प्रभावले मनसुन आगमनमा ढिलाइ: देशभर कम वर्षा र तापक्रम बढ्ने प्रक्षेपण
किसानलाई सुक्खा धान लगाउन सुझाव
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
393
Shares
काठमाडौँ । नेपालमा मनसुन भित्रिने सामान्य निर्धारित मिति (जुन १३) कटिसक्दा पनि यस वर्ष अझै मनसुनी प्रणाली भित्रिन सकेको छैन। प्रशान्त महासागरमा विकसित मौसमी प्रणाली र पश्चिमी वायुको प्रभावका कारण मनसुन आगमनमा चार दिन ढिलाइ भइसकेको छ। जल तथा मौसम विज्ञान विभागले गरेको भू–उपग्रह तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आगमन अझै केही दिन धकेलिने देखिएको छ।
विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार हाल प्रशान्त महासागरमा 'एल–निनो' विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेकाले नेपालसहित दक्षिण एसियाकै मनसुन कमजोर हुन सक्ने सम्भावना छ। विगतका वर्षहरूमा पनि एल–निनोको प्रभाव रहँदा मनसुन आगमन ढिलो हुने गरेको तथ्याङ्क छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सह–प्रवक्ता लालकुमार श्रेष्ठले सिँचाइको पर्याप्त व्यवस्था नभएको नेपालमा आकाशे पानीकै भरमा रोपाइँ हुने गरेकाले मनसुन ढिलो हुँदा बर्खे धानको उत्पादनमा ह्रास आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले बदलिँदो जलवायुलाई मध्यनजर गर्दै मौसम अनुकूल खेती प्रणाली अपनाउनुपर्नेमा जोड दिएका छन्।
विभागका अनुसार एल–निनोको प्रभावका कारण विगतमा पनि धेरै पटक मनसुन ढिलो भित्रिएको थियो। सन् १९७२ मा जुन १८, सन् १९८२ मा जुन २७, सन् १९८३ मा जुन २४, सन् १९८७ मा जुन १४, सन् १९९२ मा जुन २१, सन् १९९७ मा जुन १४, सन् २००२ मा जुन १५, सन् २००९ मा जुन २३, सन् २०१५ मा जुन १५, सन् २०११ मा जुन २० र सन् २०२३ मा जुन १४ मा मात्रै मनसुन नेपाल प्रवेश गरेको थियो।
विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार यस मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरिएको छ। कर्णालीको दक्षिणी भू–भाग, लुम्बिनीको अधिकांश क्षेत्र, मधेसको पूर्वी भू–भाग र कोशी प्रदेशको दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ। त्यस्तै सुदूरपश्चिम, मधेसको पश्चिमी भाग र कोशीको मध्य भू–भागमा यो सम्भावना ४५ देखि ५५ प्रतिशत छ।
तापक्रमतर्फ देशका सातै प्रदेशका विभिन्न भू–भागमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागको निष्कर्ष छ। हावापानी विश्लेषण शाखाका इन्चार्ज सुजन सुवेदीका अनुसार नेपालमा जेठ १८ देखि असोज १४ सम्म रहने चार महिनाको मनसुन अवधिमै वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा समाहित हुने गर्दछ।
आगामी मनसुनमा कम वर्षा र खडेरीको सम्भावनालाई दृष्टिगत गर्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले 'कृषि–मौसम सल्लाह बुलेटिन' जारी गरी किसानहरूलाई सचेत गराएको छ। बुलेटिनमा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने तथा खडेरी सहने सुक्खा धान–१, २, ३, ४, ५ र ६ जस्ता जातहरू छनोट गर्न सुझाव दिइएको छ।
यसका साथै वर्षाको पानी सङ्कलन (रेनवाटर हार्भेस्टिङ) गर्ने, पोखरीमा पानी सञ्चित गर्ने र पानी बचत गर्ने कृषि प्रविधिहरू जस्तै— सुक्खा तथा हिले छरुवा धान खेती, पालैपालो भिजाउने र सुकाउने प्रविधि तथा सघन धान खेती प्रणाली अपनाउन सिफारिस गरिएको छ। माटोको चिस्यान जोगाउन छापो (मल्चिङ) हाल्न पनि सुझाव दिइएको छ।
पूर्वी प्रशान्त महासागरको मध्य तथा पूर्वी भूमध्यरेखीय क्षेत्रमा समुद्री सतहको तापक्रम सामान्यभन्दा उल्लेखनीय रूपमा बढ्ने प्राकृतिक अवस्थालाई 'एल–निनो' भनिन्छ। यस वर्ष तीव्र रूपमा विकसित भइरहेको एल–निनो र सकारात्मक हिन्द महासागरीय द्विध्रुवको प्रभावका कारण दक्षिण एसियामा औसतभन्दा कम वर्षा हुने र विश्वका अधिकांश भू–भागमा तापक्रम बढ्ने विश्व मौसम विज्ञान सङ्गठनले जनाएको छ। विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले एल–निनोको तीव्र विकासले खडेरी, पानीको अभाव र चरम मौसमी घटनाको जोखिम बढाउने भएकाले समयमै पूर्वतयारी गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
गत वर्ष मनसुन सरदर मितिभन्दा १५ दिन अगावै (मे २९ मा) भित्रिएर आठ दिन ढिलो बाहिरिएको भए पनि रोपाइँका समयमा पर्याप्त वर्षा हुन नसक्दा मधेस प्रदेशमा सुक्खा सङ्कट घोषणा गरिएको थियो। मन्त्रालयको तथ्याङ्क अनुसार बर्खे धान रोप्ने समयको खडेरीका कारण आर्थिक वर्ष २०८१/८२ को तुलनामा यस आव २०८२/८३ मा धानबाली लगाइएको क्षेत्रफल ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टर कायम भएको छ। त्यस्तै धान उत्पादनमा पनि ४.२० प्रतिशतले कमी आई ५७ लाख ५ हजार १२६ मेट्रिकटनमा सीमित हुन पुगेको छ भने समग्र उत्पादकत्व पनि १.१६ प्रतिशतले घटेर ४.१४ मेट्रिकटन प्रतिहेक्टर कायम भएको छ।