काठमाडौँ । नेपालमा यस वर्ष पनि मनसुन भित्रिन ढिला हुने भएको छ। सरदर जुन १३ मा नेपाल प्रवेश गर्ने मनसुन यस पटक गत वर्षभन्दा करिब तीन दिन ढिला भइसके पनि अझै भित्रिन सकेको छैन।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार भूउपग्रहबाट प्राप्त तथ्याङ्क र गणितीय मौसम पूर्वानुमानको विश्लेषणले मनसुन शुरू हुन अझै केही दिन ढिला हुने सम्भावना देखाएको छ।
उनका अनुसार मनसुनको आगमन ढिला हुनु असामान्य नभए पनि यस वर्षको अवस्था पनि विगतका ढिलाइ हुने वर्षहरूको सूचीमा पर्ने देखिन्छ।
विभागका तथ्याङ्कअनुसार सन् १९७२, १९८२, १९८३, १९८७, १९९२, १९९७, २००२, २००९, २०१६, २०१९ र २०२३ मा पनि नेपालमा मनसुन ढिला प्रवेश भएको थियो।
मनसुन ढिला हुँदा कृषि, विशेषगरी रोपाइँको तयारी र पानी व्यवस्थापनमा प्रत्यक्ष असर पर्ने भएकाले किसानहरू मौसमको अवस्थाबारे चासोपूर्वक प्रतीक्षा गरिरहेका छन्।