arrow

असारका लागि बैंकहरूले सार्वजनिक गरे ब्याजदर 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
bank-in-nepal.jpg

काठमाडौँ । वाणिज्य बैंकहरूले आगामी असार महिनाका लागि आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरण अनुसार बजारमा रहेको अधिक तरलताका कारण यस पटक पनि धेरैजसो बैंकहरूले ब्याजदर घटाउने नीति लिएका छन्। असारका लागि सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ। 

यसअघि जेठ महिनामा यस्तो औसत ब्याजदर ४.३४ प्रतिशत रहेको थाहा भएको थियो। त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर पनि घटेर ३.१८ प्रतिशत कायम भएको छ, जुन जेठ महिनामा ३.२० प्रतिशत थियो। असार महिनाका लागि ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १३ वटा बैंकले जेठ महिनाकै ब्याजदरलाई यथावत् राख्दै निरन्तरता दिएका छन्।

ब्याजदर घटाउने निर्णय गरेको कुमारी बैंकले असारमा व्यक्तिगत मुद्दती निक्षेपमा ३.९१ प्रतिशत मात्र ब्याज दिनेछ। त्यस्तै लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर समान ४.०० प्रतिशत कायम गरेका छन्। एनएमबि बैंकले ब्याजदर घटाएर ४.७५ प्रतिशत तोकेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले असारका लागि ३.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

जेठ महिनाकै ब्याजदरलाई कुनै फेरबदल नगरी निरन्तरता दिने १३ बैंकहरूमध्ये राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.७५ प्रतिशत ब्याज कायम राखेको छ। नबिल बैंक र प्रभु बैंकले आफ्नो पुरानै ब्याजदर ४.५५ प्रतिशतलाई नै निरन्तरता दिएका छन्। ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि जेठकै ४.५० प्रतिशत ब्याजदरलाई यथावत् राखेका छन्। 

नेपाल बैंक र नेपाल एसबीआई बैंकले ४.२५ प्रतिशत ब्याजदर तोकेका छन् भने कृषि विकास बैंकले ४.१५ प्रतिशत र सिटिजन्स बैंकले ४.१० प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्। एभरेष्ट बैंक र सिद्धार्थ बैंकले भने सबैभन्दा कम अर्थात् ४.०५ प्रतिशत ब्याजदर कायम राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ