आज अन्तरराष्ट्रिय बैंक दिवस र एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
696
Shares
काठमाडौँ। आज अन्तरराष्ट्रिय रूपमा दुई महत्त्वपूर्ण दिवसहरू मनाइँदैछन्: अन्तरराष्ट्रिय बैंक दिवस र एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस। यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर मनाइन्छन्।
अन्तरराष्ट्रिय बैंक दिवस को मुख्य लक्ष्य बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्नु हो।
यसैगरी, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस यसै वर्षदेखि मनाउन प्रारम्भ भएको हो। संयुक्त राष्ट्रसङ्घीय महासभाले यस वर्षको जुनमा यो दिवस विश्वव्यापी रूपमा मनाउने घोषणा गरेको थियो।
यसको उद्देश्य अन्तरराष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको चार्टरअनुसार नभएको एकपक्षीय दबाबका नकारात्मक प्रभावबारे चेतना फैलाउनु र मुलुकहरूबीच सहकार्य र एकताका प्रयासलाई प्रोत्साहन गर्नु हो। यो दिवसले अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक संवादको मूल आधारहरू: संवाद, पारस्परिक सम्मान, समझदारी, सहिष्णुता र बहुपक्षवादको आवश्यकतालाई जोड दिएको छ।