arrow

निक्षेप तथा कर्जा सुरक्षण कोषले चार अर्ब ६६ करोड लगानी गर्ने

'क' वर्गका बैंकलाई आवेदन दिने आज अन्तिम दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
nichep-surakshayan-kosh.jpg

काठमाडौँ। निक्षेप तथा कर्जा सुरक्षण कोषले आफ्नो विभिन्न बैंकमा रहेको रकममध्ये ४ अर्ब ६६ करोड रुपैयाँ लगानी गर्ने भएको छ। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क' वर्गका बैंकहरूले आज (कात्तिक २४ गते) भित्र यो रकम लिन सक्नेछन्।

कोषले रकम लिन चाहने बैंकहरूका लागि विस्तृत शर्तहरू तोकेको छ। ती शर्तहरूमध्ये बैंक सञ्चालनमा आएको कम्तीमा पाँच वर्ष पूरा भएको, पछिल्लो पाँच आर्थिक वर्षहरूमा लगातार नाफामा रहेको, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको र निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशतभन्दा कम भएको हुनुपर्ने मुख्य छन्।

यसका साथै, बैंकको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने र कर्जा/स्वदेशी निक्षेप तथा प्राथमिक पूँजी अनुपात वा कर्जा/निक्षेप अनुपात राष्ट्र बैंकले समय–समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्नेछ। लगानी गरिने बैंक वा त्यसको कार्यकारी अध्यक्ष, सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराउने बाहेकको अन्य जरिवाना वा सजाय गरेको अवस्थामा सो कारवाही भएको ६ महिना पूरा भएको हुनुपर्नेछ। शिघ्र सुधारात्मक कारवाहीमा परेको भए सो फुकुवा भएको कम्तिमा तीन महिना पूरा भएको हुनुपर्ने शर्त समेत राखिएको छ।

अन्य शर्तहरूमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिम कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको (घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको) हुनुपर्ने उल्लेख छ। नेपाल सरकारको स्वामित्व रहेका बैंक बाहेकका अन्य बैंकको हकमा भने सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरी नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको हुनुपर्नेछ।

मापदण्ड तथा शर्त पूरा गरेको व्यहोराको स्वघोषणा शिलबन्दी दरभाउपत्र साथ पेस गर्नुपर्नेछ। कोषले लगानी गर्न सूचना प्रकाशित गरेको रकम लगानी गर्ने वा नगर्ने अधिकार कोषमा सुरक्षित रहने जनाएको छ। कोषकाअनुसार, शिलबन्दी दरभाउपत्रमा उल्लेखित वित्तीय परिसूचकहरू त्रैमासिक रूपमा प्रकाशित भएको हुनुपर्ने र मासिक रूपमा प्रकाशित गरेको हकमा आन्तरिक लेखापरीक्षकबाट अनिवार्य रूपमा प्रमाणित गराएको हुनुपर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ