प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले के भने ? [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
196
Shares
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र साहको सीमासम्बन्धी विवादित अभिव्यक्ति ‘सीमापार उपयोग-उपभोग’ (क्रस बोर्डर अकुपेशन) को प्राविधिक यथार्थसँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै मन्त्री खनालले नेपाल-भारत सीमाका विभिन्न स्थानमा सीमापार उपयोग-उपभोगसम्बन्धी विवाद रहेको बताए।
ती क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न नेपाल र भारतका प्राविधिक संयन्त्रले नक्साङ्कनको काम गरिरहेको जानकारी उनले दिए।
उनका अनुसार प्राविधिक अध्ययनले कतिपय स्थानमा नेपालको उपयोग र उपभोगमा रहेको भूमि भारततर्फ पर्न सक्ने तथा भारतको उपयोगमा रहेको केही भूमि नेपालतर्फ पर्न सक्ने अवस्था देखाएको छ। यस्ता क्षेत्रमाथि दुवै पक्षले आ-आफ्नो दाबी गर्दै आएका छन्।
खनालले प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको भनाइ पनि यही प्राविधिक यथार्थ र सीमापार उपयोग-उपभोगको सन्दर्भसँग जोडिएको दोहोर्याए।
नक्साङ्कनको काम सम्पन्न भएपछि सीमासम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिने उनले बताए।
उनले सीमा विवादको मूल प्रश्न यसको समाधान कसरी गर्ने भन्ने रहेको उल्लेख गर्दै नेपाल-भारत सीमा द्विपक्षीय विषय भएकाले ऐतिहासिक सन्धी-सम्झौता, नक्सा तथा स्थापित आधारका आधारमा कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोज्न नेपाल प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा ‘भारतले मात्र होइन, नेपालले पनि भारतको केही भूमि उपयोग गरिरहेको अवस्था छ’ भन्ने आशयको अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा विवाद उत्पन्न भएको थियो।
त्यसै विषयमा सरकारको औपचारिक धारणा राख्दै परराष्ट्रमन्त्री खनालले उक्त अभिव्यक्ति सीमा क्षेत्रमा देखिएको ‘सीमापार उपयोग-उपभोग’ को प्राविधिक अवस्थासँग सम्बन्धित रहेको स्पष्ट पारेका हुन्।