पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव, देशका विभिन्न भागको मौसममा बदली
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
424
Shares
काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भागको मौसममा बदली आएको छ। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार यतिबेला कोशी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहेको छ। देशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ भने कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ। यसैबिच कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा पनि पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहे पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा भने तातो दिन अर्थात् 'लू' चल्ने सम्भावना रहेकाले गर्मी बढ्ने देखिन्छ।
यसै गरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। रातिको समयमा मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा मौसम प्रभावित हुने सम्भावना छ।
साथै कर्णाली प्रदेशलगायत सबै प्रदेशका हिमाली भू-भाग, सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।