arrow

एमालेका प्रमुख सचेतक भन्छन्

सभामुख सत्तापक्षको 'रक्षा कवच' बने, प्रधानमन्त्रीको व्यवहार असंसदीय [भिडियो]

हामी व्यवस्थाका उपभोक्ता होइनौँ, निर्माता हौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
yen-mahar-21.jpg

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले आफूहरू वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संसदीय प्रणालीको उपभोक्ता मात्र नभई निर्माता भएको बताएका छन्। बिहीवार पत्रकारहरूसँग कुरा गर्दै उनले एमालेसहितका विपक्षी दलहरू वर्तमान सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो व्यवस्था उपभोग गर्न मात्र नआएको टिप्पणी गरे। आफूहरू यस व्यवस्थाको निर्माता भएकाले यसको संरक्षण, सुदृढीकरण र जनविश्वास कायम गर्न पूर्ण रूपमा जिम्मेवार रहेको उनले स्पष्ट पारे।

संसदीय व्यवस्थामार्फत नै नेपालको आमूल परिवर्तन र समाजवादको यात्रालाई अघि बढाउनुपर्ने उल्लेख गर्दै प्रमुख सचेतक महरले हाल संसद्मा विपक्षी दलहरूले विरोधका लागि मात्र विरोध नगरेको दाबी गरे। उनले रहरले नभई सरकारको कार्यशैलीका कारण बाध्यतावश संसद् अवरोध गर्नुपरेको उल्लेख गरे। संसद् जनताको आवाज बुलन्द गर्ने, कानुन निर्माण गर्ने र सरकारलाई उत्तरदायी बनाउने सार्वभौम संस्था भएकाले यसको अवरोध उचित नभए पनि वर्तमान परिस्थितिले यस्तो कदम चाल्न बाध्य बनाएको उनको भनाइ थियो। संविधान, लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका सवालमा एमालेले कुनै सम्झौता नगर्ने र सरकारका निर्णय तथा गतिविधिहरू यी आधारभूत मूल्य विपरीत भएमा सशक्त विरोध जारी राख्ने उनले चेतावनी दिए। संसद्मा सङ्ख्या भन्दा विचार, एजेन्डा र जनताका मुद्दा महत्त्वपूर्ण हुने भन्दै उनले विपक्षी दलका रूपमा रचनात्मक आलोचना र खबरदारी गर्ने नीति लिइएको बताए।

महरले पछिल्लो समय सरकार र सभामुखको भूमिकाप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। सरकारमा सर्वसत्तावादी प्रवृत्ति हाबी भएको आरोप लगाउँदै उनले बहुमतको आधारमा संविधान, कानुन, संसदीय अभ्यास र लोकतान्त्रिक मूल्य–मान्यतालाई बेवास्ता गर्दै अघि बढ्न खोजिएको दाबी गरे।

उनले प्रधानमन्त्रीको संसदीय आचरणप्रति पनि कडा आपत्ति जनाए। नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले सम्बोधन गर्दा प्रधानमन्त्रीको प्रस्तुति, व्यवहार र पहिरन असभ्य, अमर्यादित, असंसदीय तथा संविधान विरोधी रहेको उनको आरोप छ। संसद्प्रति उपेक्षापूर्ण व्यवहार देखाउने प्रधानमन्त्री सेनासम्बन्धी कार्यक्रममा भने औपचारिक र सजिएर दौरा–सुरुवालमा उपस्थित हुने गरेको उनले औँल्याए। संसद्लाई अपमान गर्नु भनेको सार्वभौमसत्ता, जनता, संविधान, लोकतन्त्र र जनमतको अपमान गर्नु सरह भएको महरले बताए।

त्यसै गरी, उनले सभामुख सत्तापक्षको ‘रक्षा कवच’ बनेको र प्रतिनिधि सभा नियमावलीको हुर्मत लिएको आरोप लगाए। विपक्षी सांसदहरूको विरोधका बाबजुद मर्यादापालकहरू थपेर बलपूर्वक सदन सञ्चालन गरिएको भन्दै उनले यसले संसद्को गरिमामा आँच पुर्‍याएको बताए। प्रधानमन्त्री संसद्मा आउँदा सदनलाई पूर्वजानकारी दिने परम्परा पालना नभएको र उनी हिन्दी चलचित्र ‘सिङ्घम’ र ‘नायक’ को छापामार शैलीमा सदनमा प्रस्तुत हुने गरेको टिप्पणी महरले गरे।

विशेष गरी प्रधानमन्त्रीले संसद्मा ‘नेपालले पनि भारतको धेरै ठाउँमा भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति महरले कडा आपत्ति जनाए। उक्त अभिव्यक्तिलाई राष्ट्रघाती, देशद्रोही र जनताप्रतिको गद्दारी भन्दै उनले विश्वका कुनै पनि सार्वभौम देशका प्रधानमन्त्रीले यस्तो गैरजिम्मेवार कुरा नगर्ने दाबी गरे। प्रधानमन्त्रीले उक्त अभिव्यक्ति फिर्ता लिएर राष्ट्रसँग माफी माग्नुपर्ने र सो भनाइ संसदीय अभिलेख (रेकर्ड) बाट हटाइनुपर्ने माग एमालेले राखेको छ। यो राष्ट्रियतासँग जोडिएको गम्भीर विषयको समाधान नभएसम्म संसद्का कामकारबाही अगाडि बढाउनु उपयुक्त नहुने र संसद् स्थगित रहेको अवधिमा संसदीय समितिहरूमा समेत एमालेका सांसदहरू सहभागी नहुने महरले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ