arrow

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति, बर्खामा यातायात सहज हुने अपेक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
madhyapahadi-baglung.jpg

बागलुङ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ। बागलुङको निसीखोला गाउँपालिका-४ झिम्पाखोलादेखि वडा नं ५ ढाँडसम्मको सडक स्तरोन्नति गरिएको हो।

विसं २०७३ मा ट्र्याक खुलेको उक्त सडक चालु आर्थिक वर्षमा सङ्घीय सरकार र निसीखोला गाउँपालिकाको रु एक-एक करोड गरी कुल रु दुई करोड लागतमा स्तरोन्नति गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरका अनुसार यस वर्ष चार किलोमिटर सडकमा ग्राभेल, ढलान, नाली निर्माण, सडक फराकिलो बनाउने र ग्याविन जडान गर्ने काम गरिएको छ।

आगामी असार १५ गतेसम्म काम सम्पन्न गर्ने गरी जेएसआर-केटी जेभीसँग सम्झौता गरिएकोमा सोहीअनुसार काम अघि बढिरहेको उनले बताए।

बर्खाको समयमा निसीखोला-५ कालापैरामा आउने बाढीका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हुने भएकाले वैकल्पिक मार्गलाई स्तरोन्नति गरिएको गाउँपालिकाले जनाएको छ।

सूचना अधिकारी बाँठा मगरले भने, “यस वर्ष चार किलोमिटर सडकमा ग्राभेल गरिएको छ। सडक व्यवस्थित भएपछि बर्खामा मध्यपहाडी लोकमार्ग अवरुद्ध भए पनि छोटा तथा लामा दूरीका सवारीसाधनलाई समस्या हुँदैन। सङ्घीय सरकार र गाउँपालिकाको साझेदारीमा विगतदेखि नै काम हुँदै आएको छ।”

ढोरपाटन नगरपालिका-२ पाखुट्टेदेखि निसीखोला-५ ढाँडसम्म २५ किलोमिटर लामो यो सडकले निसीखोला गाउँपालिकाका वडा नं २, ४, ५ तथा ढोरपाटन नगरपालिकाको वडा नं २ लाई जोड्दछ।

दश वर्षअघि स्थानीय तह, अर्थ मन्त्रालय, डोलीडार र जिल्ला विकास समितिको संयुक्त लगानीमा रु ६१ लाख लागतमा ट्र्याक खोलिएको थियो। ट्र्याक खुलेको लामो समयसम्म सडक व्यवस्थित नहुँदा नियमित यातायात सञ्चालन हुन सकेको थिएन।

स्थानीयवासीका अनुसार सडक स्तरोन्नति भएपछि सामान ढुवानी तथा यात्रामा सहज हुने अपेक्षा गरिएको छ। बर्खामा मुख्य मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्न सहज हुने उनीहरूको भनाइ छ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ