विदेशी भूमिमा सपनाहरू चकनाचुर, रोजगारी खोज्दा ज्यान गुमाउनेको संख्या बढ्दो
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
229
Shares
बागलुङ । वैदेशिक रोजगारीको आशामा खाडी मुलुक पुगेका बागलुङका युवाहरूका सपना विदेशी भूमिमै समाप्त हुने क्रम बढ्दै गएको छ । राम्रो भविष्यको खोजीमा घरपरिवार छाडेर विदेश गएका धेरैको जीवन त्यहीँ टुंगिने घटनाले जिल्लावासी स्तब्ध बनेका छन् ।
बरेङ गाउँपालिकाका ४० वर्षीय एक पुरुष परिवारको आर्थिक अवस्था सुधार्ने लक्ष्यसहित संयुक्त अरब इमिरेट्स पुगेका थिए । दुबईमा करिब एक वर्ष काम गरेका उनी घरखर्च, छोराछोरीको पढाइ र उपचारका लागि नियमित पैसा पठाउँदै आएका थिए । तर एक दिन सुतिरहेकै अवस्थामा उनको मृत्यु भएको खबर घर पुग्यो । वैदेशिक रोजगार बोर्ड, सुरक्षित आप्रवासन कार्यक्रम र स्थानीय तहको समन्वयमा उनको शव नेपाल ल्याइएको थियो ।
यस्तै, बागलुङ नगरपालिका-१३ पैञ्युपाटाका ३९ वर्षीय अर्का पुरुषको कथा पनि उत्तिकै पीडादायी छ । लामो समय साउदी अरबमा काम गरेका उनी मुटु रोगले ग्रस्त भए । नेपालमा उपचारपछि पुनः काममा फर्किएका उनको अन्ततः साउदीमै ज्यान गयो । परिवार अझै शोकमा डुबेको छ ।
यी घटना प्रतिनिधि मात्र हुन् । चालु आर्थिक वर्षमा मात्रै बागलुङबाट वैदेशिक रोजगारीमा गएका १० जनाको मृत्यु भइसकेको छ । तीमध्ये नौ पुरुष र एक महिला छन्। अधिकांशको मृत्यु विदेशमै भएको हो भने एक जनाको नेपाल फर्किएपछि ज्यान गएको छ ।
आप्रवासी स्रोत केन्द्र बागलुङका अनुसार मृत्यु हुनेहरू बागलुङ र गलकोट नगरपालिकाका दुई/दुई जना तथा जैमिनी, बडिगाड, काठेखोला, बरेङ र ताराखोला गाउँपालिकाका एक/एक जना रहेका छन् । उनीहरू साउदी अरब, यूएई, कतार, जापान र रोमानिया पुगेका थिए ।
समस्यामा परेका कामदारको संख्या पनि उल्लेखनीय छ । चालु वर्षमा एक सय ३८ जना विभिन्न समस्यामा परेका छन् भने तीमध्ये ५८ जनाको उद्धार गरिएको छ । २२ जनाको उद्धारमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि १७ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका थिए । अधिकांश मृतक ४० वर्षमुनिका रहेको तथ्याङ्कले देखाएको छ । सोही वर्ष एक सय ५६ जना कामदार विभिन्न समस्यामा परेका थिए, जसमा एक सय ३७ पुरुष र १९ महिला थिए ।
यसैबीच, गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा गएका तमानखोला गाउँपालिकाका ४१ वर्षीय श्यामकुमार घर्ती १९ वर्षपछि अशक्त अवस्थामा घर फर्किएका छन् ।
सन् २००७ मा बहराइन पुगेका उनी छ महिनापछि सम्पर्कविहीन भएका थिए । लामो प्रयासपछि दूतावास र वैदेशिक रोजगार बोर्डको समन्वयमा उनको उद्धार गरिएको हो ।
उपचारका क्रममा ठूलो रकम खर्चिनुपरेको घर्ती अहिले गाउँमै परिवारको सहारामा जीवनयापन गरिरहेका छन् । स्थानीय तहले उनको हेरचाहमा सहयोग गरिरहेको जनाएको छ ।
वैदेशिक रोजगारीले आशा मात्र नभई जोखिम पनि बोकेको यस्ता घटनाले स्पष्ट पार्दै गएका छन् ।
सुरक्षित र कानूनी प्रक्रियाबाट मात्रै विदेश जानुपर्ने आवश्यकता झन् तीव्र रूपमा महसूस हुन थालेको छ ।