arrow

जलजला र ढोरपाटन क्षेत्रमा स्वचालित क्यामेरा जडान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
camera-habre-myagdi.jpg

काठमाडौँ । सङ्कटापन्न वन्यजन्तु रेडपाण्डा (हाब्रे) को वास्तविक अवस्था, सङ्ख्या र स्वास्थ्य स्थिति पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा स्वचालित क्यामेराहरू जडान गरिएको छ। दातृ निकाय 'टोलेडोजु' को आर्थिक सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (बायोकस नेपाल) ले धौलागिरि गाउँपालिकाको वडा नं. २ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन क्षेत्रमा ‘क्यामेरा ट्यापिङ’ विधिमार्फत यो अध्ययन सुरु गरेको हो।

बायोकस नेपालका कार्यक्रम अधिकृत पवन राईका अनुसार हाब्रेको आवतजावत हुने सम्भावित पदमार्ग र उनीहरूको दिसा भेटिएका विभिन्न महत्त्वपूर्ण ठाउँहरू छनोट गरी १२ वटा स्वचालित क्यामेरा जडान गरिएको छ। "क्यामेरामा कैद हुने दृश्य र गतिविधिको आधारमा यस क्षेत्रमा रहेका रेडपाण्डाको अनुमानित सङ्ख्या पहिचान गर्न ठूलो सहयोग पुग्नेछ," उनले भने, "यसका साथै यस क्षेत्रमा रैथाने हाब्रेको पेट र आन्द्रामा हुन सक्ने परजीवी (किरा/जुका) को अवस्थाका विषयमा पनि सूक्ष्म अध्ययन भइरहेको छ।"

हाब्रेको समग्र स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र उनीहरूको दीर्घकालीन संरक्षणमा सघाउ पुर्‍याउने उद्देश्यले वन जङ्गलबाट हाब्रेको ताजा दिसा सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्न प्राविधिक टोली कार्यक्षेत्रमा खटिएको छ। समुद्री सतहबाट २,२०० मिटरदेखि ४,५०० मिटरको उचाइमा पाइने रेडपाण्डा रैथाने नेपाली प्रजाति हो।

यसअघि पनि जलजला क्षेत्रमा परीक्षणका रूपमा ३ वटा क्यामेरा जडान गरिएकोमा २ वटा क्यामेरामा रेडपाण्डाको स्पष्ट तस्बिर कैद भएको कार्यक्रम अधिकृत राईले जानकारी दिए। सो प्रारम्भिक अध्ययनका आधारमा यस क्षेत्रमा कम्तीमा ६ वटादेखि बढीमा २५ वटासम्म रेडपाण्डाको बसोबास रहेको अनुमान गरिएको छ।

धौलागिरि गाउँपालिकाका विभिन्न वनहरूमा रैथाने रेडपाण्डा बारम्बार देखिँदै आएका छन्। स्थानीय बासिन्दाले विसं २०८० को असोजमा ढोरपाटन शिकार आरक्षको गुर्जाघाट, २०८१ को मङ्सिर र हालै विसं २०८३ वैशाख ३१ गते धौलागिरिको मुनास्थित दहपातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर तथा भिडियोहरू सार्वजनिक गरेका थिए। यसअघि विसं २०७३ मा विश्व वन्यजन्तु कोष र हरियो वन कार्यक्रमको सहयोगमा रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजलाको मरेनी जङ्गलमा पहिलो पटक रेडपाण्डाको दिसा फेला पारेका थिए।

रातको समयमा रूखको ओढार वा टोड्कामा बस्ने र दिउँसो रूखका हाँगामा सुतेर आराम गर्ने यो लजालु स्वभावको वन्यजन्तु भोक लागेको बेला मात्र निगालोको मालिङ्गो, टुसा र झारपात खान भुइँमा झर्ने गर्छ। म्याग्दीको गुर्जा, लुलाङ र मुनाको जङ्गलमा रेडपाण्डाका लागि अनुकूल मानिने आहारा निगालो तथा पालिङ्गो र बस्नका लागि पुराना टोड्का परेका रूखहरू पर्याप्त मात्रामा उपलब्ध छन्।

दुर्लभ वन्यजन्तु भएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत नेपाल सरकारले रेडपाण्डालाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। रेडपाण्डाको चोरी सिकार वा अङ्गहरूको अवैध ओसारपसार (तस्करी) मा संलग्न हुने व्यक्तिलाई कानुनबमोजिम १ वर्षदेखि १० वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कडा कानुनी व्यवस्था छ।

पछिल्ला विभिन्न अध्ययनअनुसार नेपालभर हाब्रेको कुल सङ्ख्या ५०० देखि १,००० को हाराहारीमा मात्र रहेको अनुमान गरिएको छ। विश्वको भूगोलमा नेपाल, चीन, भारत, भुटान र म्यानमार गरी ५ वटा देशमा मात्र हाब्रेको प्राकृतिक वासस्थान रहेको छ। नेपालमा विशेष गरी ‘एलुरेन्स फ्युजन्स’ जातको रातो हाब्रे पाइने गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ