arrow

ढोरपाटन सिकार आरक्षमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
snow-leopard.jpg

काठमाडौँ ।  नेपालको एक मात्र सिकार आरक्ष, ढोरपाटन सिकार आरक्षमा पहिलो पटक हिउँ चितुवाको गणना सुरु गरिने भएको छ। नाउर र झारलको वैधानिक सिकारका लागि विश्वविख्यात यस आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि हालसम्म यिनीहरूको औपचारिक गणना हुन सकेको थिएन। आरक्ष प्रशासनले अब वैज्ञानिक पद्धति अपनाएर हिउँ चितुवाको वास्तविक अवस्था र सङ्ख्या पत्ता लगाउने तयारी गरेको छ।

आरक्षका रेन्जर सागर सुवेदीका अनुसार गणना कार्यका लागि गणकहरूलाई विशेष तालिम दिने तयारी भइरहेको छ। यस प्रक्रियामा आरक्षका कर्मचारी, तालिम प्राप्त विज्ञ र स्थानीय बासिन्दाहरूको सहभागिता रहने छ। हिउँ चितुवाको उपस्थिति बढी हुन सक्ने सम्भावित क्षेत्रहरू पहिचान गरी आरक्षका विभिन्न सिकार ब्लकहरूमा ५६ वटा स्वचालित क्यामेरा जडान गरिने योजना छ। करिब १० जना गणकको टोलीले ४५ दिनसम्म उच्च पहाडी भेगमा बसेर क्यामेरा ट्रयापिङ, प्रत्यक्ष अवलोकन, तस्बिर तथा भिडियो खिच्ने र हिउँ चितुवाको पदचाप एवं दिसा सङ्कलन जस्ता काम गर्नेछ।

हिउँ चितुवाको गणनाका लागि विशेष गरी सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकहरूलाई प्राथमिकतामा राखिएको छ। ४ हजार मिटरदेखि ७ हजार मिटरभन्दा माथिको उचाइमा बसोबास गर्ने हिउँ चितुवालाई पहिचान गर्न क्यामेराले कैद गरेका तस्बिरमा देखिने शरीरका धब्बाहरूको तुलना गरिने छ। साथै, सङ्कलित दिसालाई प्रयोगशालामा परीक्षण गरी वैज्ञानिक प्रतिवेदन तयार पारिने छ।

बागलुङ, म्याग्दी र रुकुम जिल्लासम्म फैलिएको १ हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलको यस आरक्षमा यसअघि २०७९ सालमा गरिएको गणनामा १ हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए। हिउँ चितुवाको गणना सकिएपछि आगामी वर्ष पुनः नाउर र झारलको गणना गरिने आरक्ष कार्यालयले जनाएको छ। यो गणनाले ढोरपाटनको जैविक विविधता संरक्षण र हिमाली पारिस्थितिक प्रणाली बुझ्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ