राजनीतिक विश्लेषक डा. गोपीलाल न्यौपानेले गणतन्त्र भनेको केवल व्यवस्था परिवर्तन मात्र नभइ जनताको पूर्ण स्वतन्त्रताको प्रत्याभूति गर्ने माध्यम भएको बताएका छन् । डा. न्यौपानेले गणतन्त्रमा जनताले बोल्ने स्वतन्त्रता (स्पिच फ्रिडम), आर्थिक स्वतन्त्रता (इकोनोमिक फ्रिडम), जीवन रक्षाको अधिकार र सम्पत्तिको अधिकार (प्रोपर्टी राइट) पाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘गणतन्त्र भनेको जनताको फ्रिडमको व्यवस्था हो । मान्छेलाई स्पिच फ्रिडम हुन्छ, इकोनोमिक फ्रिडम हुन्छ, लाइफलाई डिफेन्सको राइट हुन्छ र प्रोपर्टी राइट हुनुपर्छ । जुन नेपालमा अहिले छैन् । सरकारले चाह्यो भने जसको जग्गा पनि सिज गर्न सक्छ । प्रोपर्टी राइट भनेको कसैले पनि सम्पत्ति खोस्न नपाउने अधिकार हो, सरकारले पनि पाउँदैन। प्रोपर्टी राइट हामीसँग छैन ।’ नेपालमा यी कुनै पनि अधिकार सुरक्षित नभएको उनले उल्लेख गरे ।
उनका अनुसार सरकारले चाहयो जोसुकैको जग्गा वा सम्पत्ति पनि जफत गर्न सक्ने अवस्था हुनु भनेको सम्पत्तिको अधिकार नहुनु हो । अहिले ‘आइडियाको सप्रेसन’ (विचारको दमन) भइरहेको छ । कसैले फरक विचार राख्ने बित्तिकै उसलाई सामाजिक सञ्जाल र अन्य माध्यमबाट तथानाम गाली गरेर विचारलाई नै निमोठ्ने काम भइरहेको छ ।
उनले भने, ‘गणतन्त्रमा स्पिच फ्रिडमको राइट प्राप्त हुनुपर्छ । यतिबेला स्पिच फ्रिडम आइडियाको सप्रेसन हुन थालेको छ । विभिन्न माध्यममा आएका विषयलाई अर्को आइडिया नआओस् भनेर मान्छेहरूले गाली गर्छन् । गणतन्त्रमा आइडियाको सप्रेसन गर्न मिल्दैन । कानूनी शासन हुनुपर्छ ।’
गणतन्त्रमा कानूनी शासन हुनुपर्नेमा व्यवसायहरू सुरक्षित नभएको र सँधै आतङ्कित हुनुपर्ने अवस्थाले गणतन्त्रका आधारभूत मान्यताहरू नै नेपालमा स्थापित नभएको उनले बताए । त्यसैले साँचो गणतन्त्र ल्याउन अझै बाँकी रहेको उनले दाबी गरे।
उनले भने, ‘प्रत्येक मान्छेले जुन व्यवसाय गर्न चाहन्छ, जसलाई मान्छेले जसको सर्भिस किन्छन्, जसको गुड्स किन्छन्, त्यो व्यवसाय प्रोटेक्टेड हुनुपर्छ, सुरक्षित हुनुपर्छ। कानूनले त्यसलाई सुरक्षा दिनुपर्छ। नेपालमा व्यवसाय सुरक्षित छैन। व्यवसायहरू आतङ्कित हुने स्थिति छ । त्यसैले गणतन्त्र आएपनि आधारभूत मान्यताहरू अहिले छैन । त्यसैले गणतन्त्र ल्याउन बाँकी छ।’
नेपाली समाजले तत्काल रोजगारी, आर्थिक उन्नति र गरिबीबाट मुक्ति चाहेको छ । सम्पन्न देशका नागरिकले जस्तै नेपालीले पनि विश्वमा मान, सान र इज्जत खोजेका छन् । नेपाली जनता आफ्नै देशभित्र काम गर्न चाहन्छन् । जबसम्म राज्यले यी आधारभूत आवश्यकताहरू पूरा गर्न सक्दैन, तबसम्म गणतन्त्र सफल सक्दैन ।
उनले भने, ‘नेपाली समाजमा इम्प्लोयमेन्ट चाहिएको छ, आर्थिक उन्नति चाहिएको छ, रोजगारी चाहिएको छ, गरिबी हट्नु परेको छ, र नेपालीहरूको मान र सान बढ्नुपरेको छ । सम्पन्न देशका नागरिकहरूले जुन मान, इज्जत र सम्मान पाउँछन्, त्यो सम्मान नेपाली जनताले पनि खोजेका छन् । त्यो गणतन्त्रले दिनुपर्छ ।’
उनले लामो समयसम्म विभिन्न वंश (मल्ल, लिच्छवि, गोपाल, ठकुरी र शाह)ले शासन गरेको नेपालमा अब फेरि राजतन्त्र वा शाह वंश फर्किने सम्भावना नरहेको बताए। उनले नागरिकले स्वतन्त्रताको स्वाद चाखिसकेपछि फेरि एउटै परिवारमा राज्यको सम्पूर्ण अधिकार केन्द्रित गर्ने कुरा असम्भव रहेको बताए ।
उनले भने, ‘नेपालमा लामो समयदेखि विभिन्न किसिमका राजाहरूले नेपालमा शासन गर्दै आए । कहिले मल्ल, कहिले लिच्छवि, कहिले गोपाल वंशी त कहिले ठकुरीहरूले राज गरे । अनेक किसिमका मान्छेहरूले शासन गरिरहेका छन् । किसिम किसिमका परिवारले शासन गर्दै आए र आफूलाई राजा भन्दै एउटा शासनलाई अगाडि बढाए ।’
नेपालमा शाह वंशीय राजतन्त्र फर्किने सम्भावना नरहेको बताउँदै उनले समाज सधैँ अगाडि बढ्ने भएकाले पुरानो शासन व्यवस्थामा फर्किन नसकिने तर्क गरे ।
उनले पछिल्लो समय केही समूहले फेरि शाहहरूको शासन ल्याउनुपर्ने आवाज उठाइरहेको उल्लेख गर्दै उनले नेपालमा अहिले त्यो सम्भव नभएकाले समाज भनेको अगाडि बढ्नुपर्छ, पछाडि फर्किनु नहुने बताए ।
उनका अनुसार लोकतन्त्र र गणतन्त्र ‘अटो करेक्सन’ अर्थात् आत्मसुधार गर्ने व्यवस्था हो । उनले भारत र अमेरिकाको उदाहरण दिँदै लोकतान्त्रिक प्रणाली दीर्घकालीन रूपमा टिकिरहेको बताए ।
उनले भने, ‘भारतमा लोकतन्त्र स्थापना भएको झण्डै एकसय वर्ष पुग्न लाग्यो । अमेरिकामा करिब ३०० वर्ष हुन लाग्यो । तर उनीहरूले लोकतान्त्रिक व्यवस्था फालेनन् । किनभने लोकतन्त्रले आफूलाई समयअनुसार सुधार गर्दै लैजान्छ ।’
उनले दुई तिहाइ बहुमत प्राप्त गर्दैमा संविधान संशोधन गरेर राजतन्त्र ल्याउन वा अधिनायकवाद लाद्न नसकिने बताए ।
गतमा केपी शर्मा ओलीको दुई तिहाइको सरकारसमेत तासको महलजस्तै ढलेको उदाहरण दिँदै उनले नेपालमा सरकार फाल्न जनतालाई कुनै गाह्रो नरहेको स्मरण गराए ।
कालो चस्मा र कालो कोट लगाएर आफूलाई ‘राजा महेन्द्र’ जस्तै शक्तिशाली ठान्ने वर्तमान नेतृत्वको प्रवृत्तिलाई उनले ‘ह्यालुसिनेसन’ रहेको बताए ।
ज्ञानेन्द्र शाहले त अभ्यास गर्दा नसकेको अवस्थामा नयाँ महेन्द्र बन्ने दिवास्वप्न नदेख्न उनले सुझाव दिए । हिजो कांग्रेस र कम्युनिस्टको अकर्मण्यताका कारण निराश भएका जनताले विद्रोहस्वरूप अहिलेको शक्तिलाई भोट दिए पनि, त्यसलाई ‘ब्ल्याङ्क चेक’ सम्झेर राज्यका सबै निकायलाई पङ्गु बनाउन खोजे त्यसको महँगो मूल्य चुकाउनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री भनेको देशको कार्यकारी प्रमुख हो, उसले नबोलिकन बस्न मिल्दैन । पाँच वर्षमा देशलाई कहाँ पुर्याउने हो, त्यसको स्पष्ट ‘रोडम्याप’ जनतालाई बताउनुपर्छ । गोप्य तरिकाले मान्छे समात्ने र सुकुम्बासीका टहरा भत्काउँदै हिँड्ने कार्य राजनीति नभएर आतंकवादी गतिविधि भएको उनको आरोप छ ।
उदार लोकतन्त्रमा विश्वास राख्नेहरूका लागि जनता रुवाउने र घरबारविहीन बनाउने कार्य आतंककारी भन्दा कम नहुने र यस्तो सरकार आतंककारीको सूचीमै पर्ने उनले बताए ।
नेपालमा काम गर्ने दिनभन्दा बिदाका दिन धेरै हुनु विकासको सबैभन्दा ठूलो बाधक रहेको उनको बताए । वर्षको ३६५ दिनमध्ये शनिबार, आइतबार, चाडपर्व, प्रदेशका बिदा, सुत्केरी र घर बिदा गरेर झन्डै २४० दिन बिदा हुने र जम्मा १२० दिन मात्र काम गरेर देश बन्न नसक्ने उनले बताए ।
युरोपको सिको गरेर दुई दिन बिदा दिने तर युरोपमा गएर नेपालीले २४सै घण्टा भाडा माझ्ने गरेको यथार्थ औँल्याउँदै उनले नेपालमा तत्काल सबै अनावश्यक बिदा खारेज गर्नुपर्ने माग गरे ।
देशमा बिजुली र सुरक्षाको कुनै समस्या नभएको हुँदा काठमाडौँ, ललितपुर, पोखरा, वीरगन्ज, विराटनगर, नेपालगन्ज र बुटवलजस्ता ठूला सहरहरूलाई २४सै घण्टा खुला राख्नुपर्ने उनको सुझाव छ ।
यसले व्यापार र रोजगारी दुई गुणाले वृद्धि हुने बताए । बैंकमा थुप्रिएर बसेको अथाह पुँजी उद्योगधन्दा खोल्न चाहने नागरिकलाई सहज रूपमा उपलब्ध गराउनुपर्ने र ट्याक्स छलेको भरमा व्यापारीलाई जेल हाल्नुको साटो कर तिराएर व्यापार गर्ने वातावरण दिनुपर्नेमा उनले जोड दिए ।
सरकारले सेल्टरमा राखेर दिने १५ हजार रुपैयाँको भिख जनतालाई नचाहिएको, बरु उनीहरूलाई काम गर्ने वातावरण र सम्मान चाहिएको बताए। डोजर लगाएर विस्थापित गरिएका सबै नागरिकसँग सरकारले तत्काल माफी माग्नुपर्ने, उनीहरूलाई जग्गा र प्रविधि दिनुपर्ने तथा १० वर्षसम्म शून्य प्रतिशत ०.५० ब्याजदरमा बैंकबाट ऋण उपलब्ध गराएर गरिखाने वातावरण बनाउनुपर्ने उनको माग गरेका छन् ।
भारतले चिनी आयात रोकेका कारण नेपालमा चिनी मिलहरू बन्द भएको र उखु किसानहरू सडकमा आउनुपरेको अवस्था सरकारले देखेपनि समाधान दिन नसकेको उनले बताए ।
अर्कोतर्फ, सानो र गरिब देशको प्रधानमन्त्री भएर पनि डोनाल्ड ट्रम्प वा ठूला देशका प्रमुखसँग मात्र कुरा गर्छु भन्ने अहंकारका कारण नेपाल आएका अमेरिकी र भारतीय विशेष दूतहरूसँग भेट्न आनाकानी गर्नु कूटनीतिक विपत्ति भएको उनले बताए । चीन र भारतजस्ता विशाल र विकसित छिमेकीको बीचमा कूटनीतिक सन्तुलन मिलाएर अघि बढ्नुपर्ने बताए ।
जनताको हितमा काम नगर्ने, सँधै डोजर चलाएर आतकिंत पार्ने र अहंकार पाल्ने हो भने यो सरकार पाँच महिना वा रास्वपाको आगामी महाधिवेशनसम्म पनि नटिक्ने उनको दाबी छ ।
नेपालमा सरकार फाल्न कुनै ठूलो कुरा नभएको भन्दै उनले शासकहरूलाई जनतासँग निहुँ नखोज्न चेतावनी दिए । राजतन्त्र, कांग्रेस-कम्युनिस्ट, बालेनतन्त्रस जनताले केवल सुख, शान्ति, रोजगारी र सम्पत्तिको सुरक्षा खोजेका हुन् । यदि यी आधारभूत कुराहरू दिन सकिएन भने नेपाली जनता फेरि अर्को विद्रोह गर्न र नयाँ विकल्प खोज्न तयार रहेको समेत बताए ।