न्यायाधीशलाई तत्काल निलम्बनको माग गर्दै अनसन बस्ने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
619
Shares
काठमाडौँ । मुद्दामा सफाइ नपाउँदै भुवन गिरीलाई न्यायाधीश पदमा पुनर्बहाली गरिएको भन्दै पीडित आरती रावल आमरण अनसन जाने भएकी छन्। बिहीबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले दार्चुला जिल्ला न्यायाधीश गिरीलाई तत्काल निलम्बन गर्नसमेत माग गरेकी छन्।
पीडित रावलले तीनै तहका अदालतमा गिरीविरुद्ध मुद्दा चलिरहेको अवस्थामा महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय गराई उनलाई पुनर्बहाली गरिएको आरोप लगाएकी छन्। सत्ता र शक्तिको दुरुपयोग गरेर आफूले न्याय नपाउँदै पीडक गिरीलाई पुनर्बहाली गर्नु कानुनी राज्यको धज्जी उडाउनु सरह भएको रावलको जिकिर छ।
पत्रकार सम्मेलनमा बोल्दै रावलले भनिन्, “गैरकानुनी राजनीतिक नियुक्ति पाएका गिरीको सर्वोच्च अदालतमा बलात्कार मुद्दा विचाराधीन रहेकाले न्यायाधीश भुवन गिरीलाई तुरुन्त निलम्बन गरियोस्”। विगतको समयमा अदालतप्रति जनताको आश मर्दै गए पनि वर्तमान समयमा न्यायालयप्रति भरोसा बढ्दै गएको उल्लेख गर्दै उनले थपिन्, “बालेन सरकारले न्यायालयको शुद्धीकरणको सङ्केत दिएको हो भने, भुवन गिरीलाई तत्काल निलम्बन गरेर देखाओस्। सर्वोच्च अदालतले मेरा मिसिलका एक–एक प्रमाणहरू केलाएर मलाई न्याय गरोस्”।
विगतमा अदालतसमेत शक्तिको प्रभावमा परेको आरोप लगाउँदै रावलले अपराधी न्यायाधीशलाई अदालतले किन संरक्षण गरिरहेको छ र तीनै तहका न्यायालयबाट सफाइ नपाउँदै किन पुनर्बहाली गरियो भनी प्रश्न गरेकी छन्। साथै, उनले नैतिकताको आधारमा पनि गिरी न्यायाधीश जस्तो गरिमामय पदमा बस्न नमिल्ने जिकिर गरेकी छन्।