दार्चुला। नेपाल-चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो । पुस्तौँदेखि स्थानीयले यही नाकामार्फत नुन, ऊन, खाद्यान्नलगायतका सामग्रीको नियमित कारोबार गर्दै आएका थिए ।
सन् २०२० मा कोभिड-१९ महामारीयता तिङ्कर नाका नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन । नाका बन्द रहँदा स्थानीय व्यापार ठप्पजस्तै बनेको छ भने रोजगारीका अवसर खुम्चिँदा सीमावर्ती बस्तीका नागरिक राज्यबाट उपेक्षित भएको अनुभूति गर्न थालेका छन् ।
नेपाल-चीन हिमालयन मैत्री समाजका केन्द्रीय सदस्य तथा व्यास गाउँपालिका-१ का स्थानीय व्यापारी योगेश बोहराले तिङ्कर नाका नियमित नहुँदा व्यापार व्यवसायमा समस्या भएको बताए ।
उनका अनुसार यस वर्ष आंशिक रूपमा नाका सञ्चालन भए पनि १०-१५ दिनमा एक पटक मात्रै खुल्दा नियमित रूपमा सामान ओसारपसार हुन सकेन ।
“धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण यो नाका नियमित सञ्चालनमा आउनु आवश्यक छ,” बोहराले भने ।
व्यापारी अमितसिंह तिङ्करी चार वर्षपछि मात्रै तिङ्कर पुगेर सामानको रेखदेख गर्न पाएको सुनाए ।
उनले भने, “यस वर्ष थोरै सामान ल्याउन पाइयो, चार वर्षको क्षति त्यस्तै भयो । अहिले पनि कम्तीमा यो नाका नियमित सञ्चालन भएको भए हाम्रो जीविका चलाउन सहज हुने थियो ।”
व्यास-१ का वडाध्यक्ष अशोकसिंह बोहराका अनुसार तिङ्कर क्षेत्र केवल व्यापारिक मार्ग मात्र नभई कैलाश मानसरोवर यात्रासँग जोडिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धरोहर हो ।
तिङ्कर र छाङरु क्षेत्रका बासिन्दा परम्परागत रूपमा मानसरोवर क्षेत्रका धार्मिक कर्मकाण्ड र पूजाआजामा नियमित जाने गर्थे ।
कैलाश मानसरोवर हिन्दूहरूको प्रमुख आस्थाको केन्द्र हो । विसं २०६० सम्म नेपालकै पैदलमार्ग भएर स्थानीय कैलाश मानसरोवर दर्शन गर्न जान्थे ।
तर कोभिडपछि भने यो नाकाबाट स्थानीयले कैलाश मानसरोवरको जलसमेत ल्याउन पाएका छैनन् ।
धार्मिक कार्यमा प्रयोग हुने जल ल्याउनसमेत बन्देज लाग्दा पूजापाठमै समस्या हुने अवस्था आएको बोहराले सुनाए ।
चीनको ताक्लाकोटमा दार्चुलाका व्यासी सौका समुदायले सञ्चालन गर्दै आएका तीन दर्जनभन्दा बढी पसलसमेत चार वर्षभन्दा बढी समय बन्द रहे । यस वर्ष मात्रै पसल खोल्न पाएको व्यापारी तेम्बा लामाले जानकारी दिए ।
“हाम्रो मुख्य व्यापार नै ताक्लाकोटबाट सामान ल्याएर नेपाल र भारतका मेला महोत्सव तथा खलङ्गामा बिक्री गर्नु हो,” उनले भने, “नाका नियमित नखुल्दा हाम्रो रोजीरोटीमै समस्या आएको छ ।”
सरकारले अध्यागमन कार्यालय राख्ने कुरा अलपत्र परेको छ । भन्सार मात्रै भए पनि यो नाका नियमित सञ्चालनमा सहज हुने उनीहरूको विश्वास छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ कात्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकबाट तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको थियो । तर तिङ्करमा अध्यागमन कार्यालय नखुलेका कारण राज्यले सीमा क्षेत्रलाई ध्यान दिन नसकेको व्यासी समुदायको गुनासो छ ।
तिङ्कर नाका नियमित सञ्चालन नहुँदा उत्पन्न समस्याका विषयमा दार्चुलाका स्थानीय समुदायका प्रतिनिधिले काठमाडौँ पुगेर अघिल्लो सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा तिङ्कर नाका नियमित सञ्चालनको व्यवस्था गर्न तथा कैलाश मानसरोवर यात्रामा सहज पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायसँग राजनीतिक र कूटनीतिक पहलका लागि आग्रह गरिएको थियो ।
उनीहरूले कालापानी क्षेत्रका नागरिकले भोग्दै आएका समस्या समाधानका लागि सरकारबाट आवश्यक कूटनीतिक तथा नीतिगत निर्णय हुने विश्वास व्यक्त गरेका छन् ।
साथै व्यास वडा नम्बर १ र २ जोड्ने घोरेटो बाटो निर्माण गरी सञ्चालनमा ल्याइएको छ । रु साढे पाँच करोड लागतमा करिब एक दशकदेखि बन्द रहेको दुम्लिङदेखि छाङरुसम्मको पैदल घोरेटो बाटो यस वर्ष पुनः सञ्चालनमा आएको हो ।
उक्त बाटो सञ्चालनमा ल्याउन तत्कालीन प्रधानमन्त्री ओलीले विशेष भूमिका खेलेको भन्दै वडाध्यक्ष बोहराले बताए । रासस