निर्वाचन सुरक्षाका लागि दार्चुलामा संयुक्त गस्ती: एक सय १२ मतदानस्थलमै कडा निगरानी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १२ मंगलबार
677
Shares
दार्चुला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी दार्चुलाका तीनवटै सुरक्षा निकायले संयुक्त गस्ती सुरु गरेका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको हो।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार जिल्लाका ११२ मतदानस्थल र १४३ मतदान केन्द्रको सुरक्षा सुदृढ बनाउन तथा नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन यो कदम चालिएको हो। सुरक्षाकर्मीले नियमित जाँच, इजाजत प्राप्त हतियार सङ्कलन, अवैध मदिरा नियन्त्रण तथा बजार अनुगमनलाई तीव्रता दिएका छन्।
नौगाड गाउँपालिका–१, नागुका स्थानीयले 'नो भोट' को घोषणा गरेपछि त्यहाँ शान्तिपूर्ण मतदानको वातावरण बनाउन सरोकारवाला निकायहरूबिच छलफल भइरहेको छ। प्रजिअ पौडेलले व्यास गाउँपालिका–२ का स्थानीय मतदानका लागि तयार भए पनि नागुका बासिन्दालाई सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी दिए। यसैबिच, सुदूरपश्चिम प्रदेशका मुख्य सचिव वैकुण्ठप्रसाद अर्यालले दार्चुला पुगेर चुनावी तयारीबारे आवश्यक निर्देशन दिएका छन्।
निर्वाचनका लागि जिल्लाभर ८५६ जना कर्मचारी खटाइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको अन्तिम सूची प्रकाशन गरिसकेको छ, जसअनुसार प्रत्येक मतदान केन्द्रमा ६ जनासम्म कर्मचारी परिचालन गरिनेछ। सहायक निर्वाचन अधिकृत विष्णु अवस्थीका अनुसार दुईवटा अस्थायी मतदान केन्द्रमा भने प्रति केन्द्र ३ जना कर्मचारी रहनेछन्।
जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धाँमीले फागुन १३ र १४ गते दुई चरणमा कर्मचारीहरूलाई तालिम दिएर मतदान केन्द्रतर्फ पठाइने बताए।