arrow

लिपुलेक मुनिका मतदाताले अब खलङ्गामा भोट हाल्ने: भौगोलिक विकटताका कारण दुई अस्थायी केन्द्र कायम

दार्चुलाका १५ मतदानस्थल 'अतिसंवेदनशील' सूचीमा, सुरक्षा व्यवस्था कडा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
tinker.JPG

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाको विकट हिमाली क्षेत्र ब्यास गाउँपालिका–१ का छाङरु र तिङ्करका मतदातालाई लक्षित गरी सदरमुकाम खलङ्गामा दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ। 

भौगोलिक विकटता र अत्यधिक चिसोका कारण लिपुलेक मुनिका यी दुई गाउँका बासिन्दा हाल सदरमुकाम खलङ्गामा बसोबास गरिरहेकाले उनीहरूको सहजताका लागि यो निर्णय लिइएको हो। 

मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार छाङरुका ३ सय ७५ मतदाताका लागि कैलाशपति आधारभूत विद्यालय र तिङ्करका २ सय ४४ मतदाताका लागि मोति महिला सङ्घ आधारभूत विद्यालयमा मतदानको व्यवस्था मिलाइएको छ। गत मङ्सिर महिनामै स्थानीय बासिन्दा सदरमुकाम झरेपछि उनीहरूले खलङ्गामै मतदानको व्यवस्था मिलाउन माग गरेका थिए, जसलाई निर्वाचन कार्यालयले सम्बोधन गरेको हो।

प्रतिनिधिसभा निर्वाचनका लागि दार्चुलाभर कुल एक सय १२ मतदानस्थल र एक सय ४३ मतदान केन्द्र तोकिएका छन्। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले १५ मतदानस्थललाई अतिसंवेदनशील, ३२ लाई संवेदनशील र ६५ लाई सामान्य सूचीमा राखेर सुरक्षा योजना बनाइएको जानकारी दिएका छन्। 

यसपटक दार्चुलामा कुल ९२ हजार ९ सय ४८ मतदाता रहेका छन्, जसमा ४७ हजार ७ सय ५५ पुरुष र ४५ हजार १ सय ९३ महिला रहेका छन्। निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाका सबै निकायहरूले तयारीलाई तीव्र पारेका छन् र सदरमुकाममै मतदानको व्यवस्था भएपछि मतदाताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ