arrow

आईपीएलबाट बाहिरियो हैदराबाद, फाइनलका लागि राजस्थानले गुजरातसँग भिड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
rr-2026.jpg

काठमाडौँ । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ बाट बाहिरिएको छ। प्रतियोगिताको एलिमिनेटर खेलमा राजस्थान रोयल्सले हैदराबादलाई ४७ रनले पराजित गरेको हो। अब मे २९ मा हुने क्वालिफायर–२ मा राजस्थानले नयाँ चण्डगढमा गुजरात टाइटन्सको सामना गर्नेछ। यस खेलको विजेता टोलीले मे ३१ मा अहमदाबादमा रोयल च्यालेन्जर्स बैंगलुरूसँग फाइनल खेल्नेछ।

बुधवार मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २४३ रनको विशाल योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद १९.२ ओभरमा १९६ रनमा अलआउट हुन पुग्यो।

२४४ रनको विशाल लक्ष्य पछ्याएको हैदराबादको सुरुवात अत्यन्तै खराब रह्यो। जोफ्रा आर्चरले पहिलो ओभरमै ओपनर अभिषेक शर्मालाई शून्य रनमा आउट गरे भने त्यसपछि इसान किसन (३३ रन) र ट्राभिस हेड (१७ रन) लाई पनि सस्तैमा पभेलियन फर्काएर खेललाई राजस्थानको पकडमा ल्याए। मध्यक्रममा नितिश रेड्डीले ३८ र सलिल अरोडाले ३५ रन बनाउँदै टोलीलाई जिताउने सङ्घर्ष गरे पनि हैदराबाद १९.२ ओभरमा १९६ रनमा समेटिन पुग्यो।

राजस्थानका लागि जोफ्रा आर्चर सबैभन्दा सफल बलर रहे। उनले ४ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए। यस्तै नांद्रे बर्गर, रवीन्द्र जडेजा र सुशान्त मिश्राले समान २–२ विकेट लिए भने यश पुञ्जाले १ विकेट चट्काए।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानलाई वैभव सूर्यवंशी र यशस्वी जायसवालले उत्कृष्ट सुरुवात दिलाएका थिए। यी दुई ओपनरले पहिलो विकेटका लागि मात्र ७.६ ओभरमा १२५ रनको साझेदारी गरे। विष्फोटक ब्याटिङ गरेका सूर्यवंशीले मात्र २९ बलमा ५ चौका र १२ छक्काको मद्दतले ९७ रनको उत्कृष्ट इनिङ खेले। अर्का ओपनर जायसवालले २९ रन जोडे।

त्यसपछि आएका ध्रुव जुरेलले २१ बलमा ५० रनको अर्धशतकीय पारी खेले भने कप्तान रियान परागले १२ बलमा २६ रन बनाए। खेलको अन्त्यमा रवीन्द्र जडेजा १२ रनमा अविजित रहे।

हैदराबादका तर्फबाट प्रफुल हिंगे सबैभन्दा सफल बलर बने। उनले ४ ओभरमा ५४ रन दिएर ३ विकेट हात पारे। इसान मलिङ्गा, शिवाङ कुमार र नितिश रेड्डीले १–१ विकेट लिए पनि कप्तान प्याट कमिन्स निकै महँगो साबित भए र उनले ४ ओभरमा ६४ रन खर्चिन पुगे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ