काठमाडौँ । कोलकाता नाइट राइडर्सले आईपीएल २०२६ मा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार राति घरेलु मैदान ईडन गार्डन्समा भएको रोमान्चक खेलमा कोलकाताले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको हो। यो जितसँगै कोलकाताको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ। हालसम्म खेलिएका १३ खेलमध्ये ६ जित, ६ हार र एक विना नतिजाको खेलसहित १३ अङ्क जोडेर कोलकाता तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।
बुधबार वर्षाका कारण खेल सुरु हुन एक घण्टा ढिलाइ भएको थियो। खेलमा कोलकाताले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रनको मध्यम योगफल तयार पारेको थियो। मुम्बईका लागि कोर्बिन बोसले १८ बलमा अविजित ३२ रनको आक्रामक पारी खेले भने कप्तान हार्दिक पाण्ड्याले २६ रनको योगदान दिए। मुम्बईलाई सस्तैमा रोक्ने क्रममा कोलकाताका बलरहरू क्यामरन ग्रीन, सौरभ दुबे र कार्तिक त्यागीले समान २–२ विकेट लिए भने सुनिल नरेनले १ विकेट चट्काए।
१४८ रनको लक्ष्य पछ्याएको कोलकाताको सुरुवात भने राम्रो हुन सकेको थिएन। टोलीले ५४ रनको स्कोरमै आफ्ना महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो। खराब सुरुवातका बाबजुद मनिस पाण्डे र रोभम्यान पावेलले सम्हालिएको ब्याटिङ गर्दै ४७ बलमा ६४ रनको महत्त्वपूर्ण साझेदारी गरेर खेल कोलकाताको पक्षमा मोडेका थिए। मनिसले ६ चौकाको मद्दतमा ४५ रन बनाए भने पावेलले ४ चौका र २ छक्का प्रहार गर्दै ४० रनको योगदान दिए। उत्कृष्ट साझेदारीको बलमा कोलकाताले १८.५ ओभरमा ६ विकेट गुमाउँदै उक्त लक्ष्य सहजै पुरा गर्यो।