आईपीएलको फाइनलका लागि गुजरात र राजस्थान भिड्दै, १५ वर्षे वैभवमाथि सबैको नजर
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
860
Shares
काठमाडौँ । आज इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को क्वालिफायर–२ मा गुजरात टाइटन्स र राजस्थान रोयल्स आमने–सामने हुँदै छन्। यस खेलमा विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ। खेल नेपाली समय अनुसार ७:४५ मा शुरु हुनेछ ।
यस महत्त्वपूर्ण खेलमा १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीमाथि सबैको विशेष नजर रहनेछ। उनले एलिमिनेटर खेलमा सनराइजर्स हैदरावादविरुद्ध ९७ रनको उत्कृष्ट इनिङ्स खेल्ने क्रममा १२ वटा छक्का प्रहार गरेका थिए। अर्कोतर्फ, यस सिजनकै सबैभन्दा बलियो मानिएको गुजरातको बलिङ लाइनअपले उनलाई रोक्ने प्रयास गर्नेछ । जसमा कगिसो रबाडा, मोहम्मद सिराज, जेसन होल्डर, प्रसिद्ध कृष्णा र राशिद खान जस्ता घातक बलरहरू सामेल छन्।
गत मे ९ मा जयपुरमा गुजरात र राजस्थानबिच यस सिजनको पछिल्लो खेल खेलिएको थियो। उक्त खेलमा मोहम्मद सिराजले सर्ट बलमार्फत सूर्यवंशीको विकेट लिएका थिए भने अर्का बलर रबाडा उनको आक्रामक ब्याटिङको सिकार बनेका थिए। सो खेलमा वैभवले १६ बलमा ३ छक्कासहित ३६ रन बनाएका थिए।
वैभवले गुजरातविरुद्ध अहिलेसम्म कुल तीन खेल खेलेका छन् । जसमा एक शतकको मद्दतले २३३.३३ को स्ट्राइक रेटमा १६८ रन बनाएका छन्। गुजरातविरुद्ध उनले १५ चौका र १५ छक्का प्रहार गरिसकेका छन् भने उनलाई मोहम्मद सिराज, राशिद खान र प्रसिद्ध कृष्णाले एक–एक पटक आउट गरेका छन्।
वैभव अहिले उत्कृष्ट फर्ममा छन्। पछिल्ला ५ इनिङ्समा उनी केवल एक पटक मात्र एकल अङ्क (सिंगल डिजिट) मा आउट भएका छन्। बाँकी चार इनिङ्समा दुई अर्धशतकसहित उनले २५०.९ को स्ट्राइक रेटमा २७६ रन बनाएका छन्। अर्कोतर्फ गुजरातका ५ जना बलरहरूले यस सिजनमा कम्तीमा १५–१५ विकेट लिइसकेका छन्।
यो खेल हुने महाराजा यादविन्द्र सिंह स्टेडियमको पिच सामान्यतया ब्याटरहरूका लागि सहयोगी मानिन्छ। तर दुई दिनअघि मे २७ मा खेलिएको खेलमा यहाँ तीव्र गतिका बलर (पेसर्स) हरूले राम्रो मद्दत पाएका थिए। सो खेलमा खसेका १८ विकेटमध्ये १२ विकेट पेसर्सले लिएका थिए भने दुई ब्याटर रनआउट भएका थिए।
जोफ्रा आर्चरले आफ्नो लेन्थ र गतिको बलमा हैदरावादको टप अर्डर ध्वस्त पारेका थिए । यद्यपि वैभवका सामु भने प्याट कमिन्सको नेतृत्वमा रहेको पेस अट्याक असर बिहिन साबित भएको थियो।