arrow

सरकार आफ्नो मूल कर्तव्यबाट विचलित भयो, प्रणालीमाथि नै प्रहार गर्दैछ: प्रवक्ता चालिसे

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १३ बुधबार
devraj-chalise-congress.jpg

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनअपेक्षाअनुसार अवस्था परिवर्तन गर्ने आफ्नो मूल कर्तव्यबाट विचलित भएको आरोप लगाएका छन्। नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। सरकार लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्न उद्यत रहेको र संसदीय प्रणालीभित्रै बसेर यसको मर्मविपरीत काम गरिरहेको टिप्पणी उनले गरे।

नेपालको भू-राजनीति र जनसाङ्ख्यिक अवस्थितिलाई दृष्टिगत गर्दै संसदीय शासन प्रणाली रोजिएको स्मरण गराउँदै उनले अहिले सरकारबाटै यस प्रणालीमाथि अदृश्य रूपमा आक्रमण भइरहेको दाबी गरे। सरकारले अध्यादेश जारी गर्ने शैली, अदालतका प्रसङ्ग, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सङ्घीयताको कार्यान्वयनमा देखाएका कमजोरीहरू संसदीय लोकतन्त्रका लागि मुख्य चुनौती भएको उनको भनाइ छ।

प्रवक्ता चालिसेले सञ्चारकर्मीहरूलाई सत्यको पक्षमा अविचलित भएर उभिन आग्रह गरे। सन् १९५३ मा अमेरिकामा रङ्गभेद विरुद्ध रोजा पाक्र्सले गरेको सानो विद्रोहले नागरिक अधिकार प्राप्तिमा ल्याएको ठूलो परिवर्तनको उदाहरण दिँदै उनले पत्रकारको कलमले नै स्वतन्त्रताको रक्षा गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै उनले भने, "अहिलेको सरकार अवस्था परिवर्तनका लागि म्यान्डेट पाएको हो, तर सरकार आफ्नो कर्तव्य भुलेर प्रणालीमाथि नै प्रहार गरिरहेको छ। झुटले लेखिएको इतिहास मेटिन सक्छ, तर सत्यको आवाज सधैँ अमर रहन्छ। कुनै पनि तानाशाह वा शक्तिले स्वतन्त्रतालाई पराजित गर्न सक्दैन। काङ्ग्रेसले चुनाव हार्न सक्छ तर देशले जित्नुपर्छ भन्ने हाम्रो मान्यता हो। निर्वाचन आउँछन् जान्छन्, तर लोकतन्त्र र स्वतन्त्रता स्थायी हुन्।"

नेपाली काङ्ग्रेसका प्रवक्ता चालिसेले पार्टीको आन्तरिक राजनीतिक प्रसङ्ग उल्लेख गर्दै निर्वाचनमा भएको हारलाई एउटा ‘ब्याटल’ (लडाइँ) को हार मात्र भएको र सिद्धान्तको लडाइँमा काङ्ग्रेस कहिल्यै पराजित नहुने स्पष्ट पारे। हालैको निर्वाचनमा बेहोरेको पराजयलाई ‘सेटब्याक’ को संज्ञा दिँदै उनले आगामी पाँच वर्षभित्र जनताले चाहेजस्तो र रोजेजस्तो काङ्ग्रेस बनेर सशक्त रूपमा पुनरागमन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ