काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरू लगातार दोस्रो सिजन इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। मङ्गलवार भएको क्वालिफायर–१ खेलमा बैंगलुरूले गुजरात टाइटन्सलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
अब गुजरातले फाइनल प्रवेशका लागि एलिमिनेटर विजेता टोलीसँग क्वालिफायर–२ खेल्नेछ। सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबिचको एलिमिनेटर खेल बुधवार चन्डिगढमा हुँदैछ।
धर्मशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलुरूले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रनको विशाल योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातको टोली १९।३ ओभरमा मात्र १६२ रनमा अलआउट हुन पुग्यो।
२५५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा गुजरातको सुरुवात निकै खराब रह्यो। साई सुदर्शन १४ रन बनाएर हिट–विकेट आउट भए भने कप्तान शुभमन गिल मात्र २ रनमा पेभेलियन फर्किए। जोस बटलरले ११ बलमा २९ रनको इनिङ्स खेल्दै केही आशा जगाए पनि जोश हेजलवुडले उनलाई बोल्ड गरिदिए। त्यसपछि गुजरातले ५१ रन जोड्दा आफ्ना ५ महत्वपूर्ण विकेट गुमाइसकेको थियो।
एक किनारबाट राहुल तेवतियाले एक्लै सङ्घर्ष गर्दै ४३ बलमा ६८ रनको इनिङ्स खेले, जसमा ८ चौका र ४ छक्का सामेल थिए। बैंगलुरूका लागि डफीले ३ विकेट लिए भने क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार र रसिख सलामले २–२ विकेट चट्काए।
यसअघि ब्याटिङ गरेको बैंगलुरूका लागि वेंकटेश अय्यरले ७ बलमा १९ रन बनाउँदै टोलीलाई तीव्र सुरुवात दिलाएका थिए। त्यसपछि विराट कोहली र देवदत्त पडिक्कलले इनिङ्स सम्हाले। कोहलीले २५ बलमा ४३ र पडिक्कलले १९ बलमा ३० रन जोडे। यी दुवै आउट भएपछि कप्तान रजत पाटीदारले ३३ बलमा अविजित ९३ रनको विस्फोटक इनिङ्स खेले। उनको इनिङ्समा ५ चौका र ९ छक्का सामेल थिए।
पाटीदार र क्रुणाल पाण्ड्याबिच चौथो विकेटका लागि ९५ रनको साझेदारी भएको थियो। क्रुणालले २८ बलमा ५ चौका र २ छक्काको मद्दतले ४३ रन बनाए। अन्तिम ओभरहरूमा जितेश शर्माले ५ बलमा १५ रन जोड्दै टोलीको स्कोर २५० पार पुर्याए। गुजरातका लागि कगिसो रबाडा र जेसन होल्डरले २–२ विकेट लिए।