arrow

पारा टेबलटेनिस च्याम्पियनशिपको उपाधि डिगम र लालीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
dis-ten-4.jpg

काठमाडौँ । 'पारा टेबलटेनिस खेल च्याम्पियनशिप' को उपाधि डिगम सिंह चेम्जोङ र लाली तामाङले जितेका छन् । राष्ट्रिय शारीरिक अपांग टेबलटेनिस संघ नेपालको आयोजना तथा काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागको सहयोगमा आयोजित 'पारा टेबलटेनिस खेल च्याम्पियनशिप' सफलतापूर्वक सम्पन्न भएको छ । 

अपाङ्गता भएका व्यक्तिहरूको खेल कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित यस प्रतियोगितामा महिला र पुरुष गरी दुई छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा कूल २५ जना खेलाडीहरूको सहभागिता रहेको थियो, जसमा १६ जना पुरुष र ९ जना महिला खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको सेमिफाइनल खेलमा केशव थापाले मनोज थापालाई ४-३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । 

अर्को सेमिफाइनल खेलमा डिगम सिंह चेम्जोङले दीपक नक्कललाई ४-० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

उपाधिका लागि भएको फाइनल भिडन्तमा डिगमले उत्कृष्ट प्रदर्शन गर्दै केशव थापालाई ४-० को सोझो सेटमा पराजित गरी स्वर्ण पदक जित्न सफल भए । 

खेलमा पराजित केशव थापाले रजत पदकमा चित्त बुझाए भने सेमिफाइनलमा रोकिएका मनोज थापा र दीपक नक्कल संयुक्त रूपमा तेस्रो बन्दै कास्य पदक प्राप्त गरे ।

महिलातर्फको सेमिफाइनल खेलमा लाली तामाङ पूजा सोतीलाई ४-२ को सेटमा पराजित गर्दै फाइनलमा पुगिन् । अर्को रोमाञ्चक सेमिफाइनल खेलमा निर्मला भण्डारीले सोनिका ढकाललाई ४-३ को सेटमा पाखा लगाउँदै फाइनलको यात्रा तय गरिन् ।

उपाधिका लागि भएको फाइनल खेलमा लालीले निर्मलामाथि ४-० को सोझो सेटमा सहज जित निकाल्दै स्वर्ण पदक प्राप्त गरिन् । 

प्रतियोगितामा निर्मला रजत पदक जितिन् भने सेमिफाइनलमा उपविजेता बनेका सोनिका ढकाल र पूजा सोतीले तेस्रो स्थान हासिल गर्दै कास्य पदक प्राप्त गरे ।

प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो । 

विधागत रूपमा पहिलो हुनेले रु. ७,०००, दोस्रो हुनेले रु. ५,००० र तेस्रो स्थान हासिल गर्ने दुई जनाले जनही रु. ३,००० नगद पुरस्कार प्राप्त गरे ।

राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस संघ नेपालका अध्यक्ष गणेश केसीको अध्यक्षतामा सम्पन्न उक्त समापन तथा पुरस्कार वितरण समारोहमा काठमाडौँ महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दलबहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

त्यसैगरी विशिष्ट अतिथिका रूपमा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष विजेन्द्र हमाल, अतिथिहरूमा राष्ट्रिय पारालम्पिक कमिटी नेपालका उपाध्यक्ष उदयबहादुर लिम्बु, राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईं  र सक्षम नेपालका अध्यक्ष विरूकमल श्रेष्ठको उपस्थिति रहेको थियो । 

खेलाडीहरूलाई खेलको प्राविधिक प्रशिक्षण प्रशिक्षक बसन्त भारतीले प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि लगायत अन्य विशिष्ट अतिथिहरूले छोटो मन्तव्य राखेका थिए ।

मन्तव्यका क्रममा वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूमा रहेको खेल प्रतिभालाई उजागर गर्न यस्ता प्रतियोगिताहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्ने र राज्य तथा स्थानीय निकायबाट थप सहयोग हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडाध्यक्ष कार्कीले अपाङ्गता भएका व्यक्तिहरूका लागि खेलकुद अपरिहार्य रहेको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूको मानसिक र शारीरिक स्वास्थ्यलाई दुरुस्त राख्न खेलकुदले ठूलो मद्दत पुर्‍याउने उल्लेख गर्दै आगामी दिनमा स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 

विशिष्ट अतिथि एवं अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष विजेन्द्र हमालले प्रतियोगिता ज्यादै उत्कृष्ट रहेको र खेलाडीहरूले निकै राम्रो मिहिनेत गरेको भन्दै प्रशंसा गरे । आफू प्राविधिक व्यक्ति एवं प्रमुख प्रशिक्षक समेत रहेको स्मरण गराउँदै उनले खेलाडीहरूलाई महत्त्वपूर्ण सुझाव दिँदै भने, “जोशमा हौसिएर खेल्दा नम्बर ल्याउनुभन्दा पनि अङ्क गुम्ने सम्भावना बढी हुन्छ। खेलमा एक नम्बर कम हुनु भनेको दुई नम्बरको क्षति हुनु बराबर हो। त्यसैले खेलाडीहरूले जोशसँगै होश पुर्‍याएर खेल्न आवश्यक छ ।”

अतिथि एवं राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष चम्लागाईंले आफू स्वयं बुद्धिचाल (चेस) को राष्ट्रिय खेलाडी रहेको जानकारी दिँदै पारा टेबलटेनिस खेल हेर्दा आफू निकै प्रभावित भएको र आगामी दिनहरूमा यस खेललाई थप सहयोग गर्ने बताए । 

अर्का अतिथि एवं एनपिसी नेपालका उपाध्यक्ष लिम्बूले एनपिसी नेपालको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पारा टेबुलटेनिस खेलको विकासका लागि निरन्तर कार्य गर्ने बताए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष एवं राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस संघ नेपालका अध्यक्ष केसीले प्रतियोगितालाई भव्य रूपमा सफल बनाउन सहयोग गर्ने सहयोगी संस्था, अतिथिहरू, प्राविधिक टोली तथा सहभागी खेलाडीहरू सबैलाई धन्यवाद ज्ञापन गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ