बागमती प्रदेश अम्प्युटी फुटसल च्याम्पियनशिपमा कर्णाली च्याम्पियन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
1.3k
Shares
काठमाडौँ । बागमती प्रदेश अम्प्युटी फुटसल च्याम्पियनशिपको उपाधि कर्णाली प्रदेशले जितेको छ । निर्मला फाउण्डेसनको आयोजनामा काठमाडौंस्थित हाइवे फुटसलमा आयोजित प्रतियोगितामा कर्णाली च्याम्पियन भएको हो ।
गण्डकी, बागमती र कर्णाली प्रदेश गरी तीन टोली सहभागी प्रतियोगिताको लिग चरण गरी विजेता घोषित गरिएको प्रतियोगितामा कर्णालीले दुई खेलबाट एक जित र एक बराबरीसहित चार अंक जोड्दै उपाधि जित्यो ।
उपाधिसँगै कर्णालीले २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त ग¥यो । यस्तै बागमती प्रदेश दुई बराबरीसहित दुई अंकका साथ उपविजेता बन्यो ।
गण्डकी प्रदेशले दुई खेलबाट एक बराबरी र एक हारसहित एक अंक जोड्यो । उपविजेता बागमतीले १५ हजार तथा तेस्रो भएको गण्डकीले १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा कर्णालीका सुदीप चापागाईं उत्कृष्ट खेलाडी घोषित भए । उनले सर्वाधिक गोलकर्ताको अवार्डसमेत जिते ।
उत्कृष्ट गोलरक्षकको पुरस्कार पनि कर्णालीकै चेतनारायण खनालले प्राप्त गरे । तीनै विधाका विजेताले जनही पाँच हजार रुपैयाँसहित मेडल प्राप्त गरे ।
प्रतियोगिताको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका उपाध्यक्ष तथा काठमाडौँ जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही रहेका थिए ।
विशेष अतिथिका रूपमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सहायक प्रशिक्षक बालगोपाल साहुखलको उपस्थिति रहेको थियो ।
त्यस्तै निर्मला फाउन्डेशनकी संस्थापक निर्मला भण्डारी, पूर्ण जीवन फाउन्डशन नेपाल, इम्प्याक्ट हुप्स एकेडेमीका संस्थापक प्रेमसुन्दर होना तथा विश्राम फाउन्डेशनका प्रतिनिधिहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
प्रतियोगिताले अम्प्युटी खेलाडीहरूको क्षमता, आत्मविश्वास र खेलप्रतिको समर्पण उजागर गर्दै समावेशी खेलकुद विकासमा सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ ।