श्रेयसको उत्कृष्ट शतकमा लखनउलाई हरायो पञ्जाबले, प्लेअफको सम्भावना जीवितै
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
239
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार खेलिएको खेलमा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई जीवितै राखेको छ।
इकाना स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९६ रनको बलियो योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले उत्कृष्ट प्रदर्शन गर्दै मात्र १८ ओभरमा ३ विकेट गुमाएर उक्त लक्ष्य सजिलै पूरा गर्यो।
पञ्जाब किंग्सको यस शानदार जितमा कप्तान श्रेयस अय्यरले कप्तानी पारी खेल्दै टोलीलाई जित दिलाए भने आफ्नो आईपीएल करियरको पहिलो शतक समेत प्रहार गरे। अय्यरले मैदानको चारैतर्फ चौका र छक्काको वर्षा गर्दै ५१ बलमा अविजित १०१ रन बनाए। उनले छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गर्नुका साथै टोलीलाई जितको रेखा पार गराएका थिए।
कप्तान अय्यरका अलावा प्रारम्भिक ब्याट्सम्यान प्रभसिमरन सिंहले पनि ६९ रनको आक्रामक पारी खेल्दै पञ्जाबलाई निकै बलियो सुरुवात दिलाएका थिए। लखनउका तर्फबाट बलिङमा मोहम्मद शमीले २ विकेट लिए भने अर्जुन तेन्दुलकरले १ विकेट हात पारे। यस जितसँगै पञ्जाब किंग्सको अब १५ अङ्क भएको छ।
यसअघि पहिले ब्याटिङ गरेको लखनउ सुपर जायन्ट्सका लागि जोश इङ्लिसले सर्वाधिक ७२ रनको योगदान दिएका थिए भने आयुष बडोनीले मात्र १८ बलमा ४३ रनको विष्फोटक पारी खेलेका थिए। खेलको अन्त्यतिर अब्दुल समदले अविजित ३७ रन जोड्दै टोलीलाई चुनौतीपूर्ण स्कोरसम्म पुर्याएका थिए।
पञ्जाब किंग्सका तर्फबाट बलिङमा मार्को यानसन र युजवेन्द्र चहलले समान २-२ विकेट लिए भने अजमतुल्लाह ओमरजई र शशांक सिंहले १-१ विकेट लिन सफल भए।