arrow

जङ्गली भ्याकुर खाँदा बागलुङमा एक वृद्धाको मृत्यु, आठ जना बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
Baglung-hamrakura.jpg.jpeg

काठमाडौँ ।  निगुरो टिप्न जङ्गल गएका स्थानीय बासिन्दाले जङ्गलबाटै ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना बिरामी परेका छन्।

घर नजिकैको जङ्गलबाट ल्याएको जङ्गली भ्याकुर खाँदा बडिगाड गाउँपालिका–५ दाग घर भई हाल खार बजार बस्ने ७२ वर्षीया फिरमकुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए। प्रहरी निरीक्षक मानन्धरका अनुसार, दीर्घरोगी घिमिरेको घरमै ज्यान गएको हो।

भ्याकुर खाएपछि बिरामी पर्नेहरूमा बडिगाड गाउँपालिका–५ खारका ५५ वर्षीया दुरपती कामी, ५५ वर्षीया विष्णु घिमिरे, २३ वर्षीया शारदा न्यौपाने, ४३ वर्षीय सुरेन्द्र विक, ६३ वर्षीय भोजराज घिमिरे, ६२ वर्षीया पुतली घिमिरे, ६५ वर्षीय खिमानन्द घिमिरे र १४ वर्षीय अबिसन घिमिरे रहेका छन्।

बिरामी परेका सबै जनाको अहिले बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका सूचना अधिकारी पार्वती अर्यालका अनुसार बिरामीहरूमा चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र बान्ता हुने जस्ता लक्षणहरू देखिएका छन्। बिरामीमध्ये दुरपती कामीको अवस्था गम्भीर र जटिल रहेको अस्पतालले जनाएको छ।

स्थानीयका अनुसार उनीहरू आइतबार नियमित जस्तै जङ्गलमा निगुरो टिप्न गएका थिए। दिउँसोको खाजामा जङ्गलबाटै खनेर ल्याएको भ्याकुर खाएपछि उनीहरू एकाएक बिरामी परेका हुन्। जङ्गली कन्दमुल खाँदा विष लागेको हुन सक्ने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ