युवाको आशा सम्बोधन नभए देश फेरि विद्रोहतर्फ जान सक्छ : विश्वप्रकाश शर्मा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
452
Shares
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ पुस्ताको आकांक्षा र बदलिँदो समयअनुसार संविधान संशोधनको प्रक्रिया गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताएका छन् ।
उनले युवाको आशा र अपेक्षालाई समयमै सम्बोधन गर्न नसकिए आगामी दशकमा मुलुक फेरि संकट र असन्तोषतर्फ धकेलिन सक्ने चेतावनी दिए।
पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्दै शर्माले संविधान संशोधनलाई दलगत स्वार्थभन्दा माथि उठाएर राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्ने धारणा राखे ।
उनका अनुसार संविधानलाई आवेग, आग्रह वा तात्कालिक राजनीतिक स्वार्थबाट होइन, नागरिकको भावना र भविष्यको आवश्यकताअनुसार परिमार्जन गर्नुपर्छ ।
“अहिलेका युवाहरूको आशालाई विश्वासमा बदल्न सकिएन भने १० वर्षपछिको स्थिति भयावह हुनसक्छ,” उनले भने, “आजको ‘अल्फा जेनेरेसन’ वयस्क हुँदा फेरि नयाँ विमति र विद्रोह लिएर सडकमा उभिने अवस्था आउन दिनु हुँदैन ।”
शर्माले विगतका राजनीतिक द्वन्द्व र हिंसात्मक अवस्थाको पुनरावृत्ति हुन नदिन सबै राजनीतिक शक्ति जिम्मेवार बन्नुपर्नेमा जोड दिए । “हामी फेरि आमाहरूको काख रित्तिएको र सिंहदरबार जलेको दृश्य हेर्न चाहँदैनौँ,” उनले भने ।
नेपाली काँग्रेसले संविधान संशोधन तथा समसामयिक राजनीतिक विषयमा अध्ययन र गृहकार्य गर्न उपसभापति पुष्पा भुसालको नेतृत्वमा विज्ञ टोली परिचालन गरेको जानकारी पनि शर्माले दिए ।
उनले पार्टीभित्र र बाहिरका बौद्धिक वर्ग, आलोचक तथा नागरिक समाजबाट रचनात्मक सुझाव अपेक्षा गरिएको बताए ।
आजको युवा पुस्ताको मुख्य चाहना ‘लोकतन्त्र र विकास’ रहेको उल्लेख गर्दै शर्माले लोकतान्त्रिक प्रणालीभित्रै रहेर विकास, स्थायित्व र समृद्धि हासिल गर्न काँग्रेस प्रतिबद्ध रहेको स्पष्ट पारे ।
उनले देशलाई साझा आँगनका रूपमा व्याख्या गर्दै सरकार र प्रतिपक्ष दुवैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए ।