arrow

जथाभावी डोजर चलाउँदा दुर्घटना बढाएको आईजीपी कार्कीको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
danbahadur-karki-27-01.jpg

काठमाडौँ। नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीले नेपालको जटिल भूगोल, कमजोर सडक संरचना र अव्यवस्थित सडक विस्तारका कारण सवारी दुर्घटना बढ्दै गएको बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले जथाभावी निर्माण गरिएका सडक, कमजोर इन्जिनियरिङ तथा जलवायु परिवर्तनका असरले दुर्घटनाको जोखिम झन् बढाएको बताए ।

आइजीपी कार्कीले नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्त दुःखद् बन्दै गएको उल्लेख गर्दै दैनिक औसतमा आठ जनासम्मको मृत्यु हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको बताए ।

उनले दुर्घटना न्यूनीकरण राज्य, व्यवसायी, मजदुर युनियन र नागरिक सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सुरक्षित यातायात प्रणाली निर्माणका लागि स्पष्ट नीति र मार्गनिर्देशन आवश्यक रहेको बताए ।

कार्कीले पछिल्ला वर्षमा बाढी, पहिरो तथा मनसुनजन्य विपद्का कारण सडक जोखिम बढेको उल्लेख गर्दै चाडपर्वको समयमा हुने ठूला दुर्घटनाले राष्ट्रलाई ठूलो मानवीय र आर्थिक क्षति पुर्याइरहेको बताए ।

उनले दुर्घटनाको कारण केवल मानवीय कमजोरी मात्रै नभई इन्जिनियरिङ पक्ष पनि उत्तिकै जिम्मेवार रहेको स्पष्ट पारे । गाउँ-गाउँमा प्राविधिक मापदण्डबिना डोजर प्रयोग गरेर बनाइएका सडकले दुर्घटना निम्त्याएको स्वीकार गर्नुपर्ने उनको भनाइ थियो ।

आइजीपी कार्कीले जलवायु परिवर्तन, कमजोर सडक संरचना, लापरवाही, अज्ञानता र कानुनी कार्यान्वयनको कमजोरीलाई दुर्घटनाका मुख्य कारणका रूपमा औँल्याउँदै दीर्घकालीन सोचसहित सुरक्षित सडक पूर्वाधार निर्माणमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ