अध्यादेश पास भइसकेपछि संसद बोलाउनु सरकारको बदनियत: नेता आङ्देम्बे
सरकारले अध्यादेशमार्फत संवैधानिक निकायहरूमाथि हस्तक्षेप गर्न खोजेको आरोप
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
213
Shares
काठमाडौँ । नेपाली काँग्रेसले सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएकोप्रति आफ्नो गम्भीर असहमति र आपत्ति प्रकट गरेको छ। मंगलवार सम्पन्न संसद् समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका संसदीय दलका नेता भीष्मराज आङदाम्बेले सरकारले अध्यादेशमार्फत संवैधानिक निकायहरूमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए।
नेता आङदाम्बेका अनुसार सरकारले आफ्नो अनुकूलका व्यक्तिहरूलाई महत्त्वपूर्ण संवैधानिक आयोगहरूमा नियुक्त गरी ती निकायहरूलाई आफ्नो नियन्त्रणमा राख्ने बदनियतपूर्ण उद्देश्यले यो अध्यादेश ल्याएको हो। उनले प्रतिपक्ष र संसद्मार्फत व्यक्त हुने नागरिक भावनालाई कुल्चिएर सरकारले स्वेच्छाचारी प्रवृत्ति प्रस्तुत गरेको बताए। अध्यादेश जारी भइसकेपछि मात्र संसद् अधिवेशन आह्वान गर्ने सरकारको निर्णयले समेत उसको नियतमा खोट देखिएको र यसका विरुद्ध संसद्मा सशक्त रूपमा आवाज उठाउने उनले चेतावनी दिए।
यसैगरी, काँग्रेसले सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा पनि सरकारको आलोचना गरेको छ। सुकुम्बासी परिवारहरूको उचित व्यवस्थापन र विकल्प बिना नै डोजर चलाएर बस्ती हटाउँदा मानवीय संवेदनाको ख्याल नगरिएको र मानव अधिकारको उल्लङ्घन भएको नेता आङदाम्बेले उल्लेख गरे। उनले यस संवेदनशील विषयमा गम्भीर बन्न र विस्थापितहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्।