arrow

सर्लाही-४ को विकासमा सक्रिय रहने गगन थापाको प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
gagan-thapa-01-17.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा पराजित भए पनि यस क्षेत्रका मतदाता र विकासका मुद्दासँग सधैँ जोडिएर रहने दृढ प्रतिबद्धता जनाएका छन्। 

गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलो पटक बुधबार सर्लाही पुगेका थापाले धनकौलमा आयोजित मतदाता धन्यवाद तथा ‘जरा अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै आफू चुनावी परिणामबाट विचलित नभएको प्रष्ट पारे। उनले निर्वाचनका क्रममा आफूलाई साथ, सद्भाव र सहयोग गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा झन्डै २३ हजार मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दै आफू हार्दा धेरै शुभेच्छुकहरू भावुक बनेको क्षणलाई स्मरण गरे।

सभापति थापाले निर्वाचनअघि नै आफ्नो टोलीले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइ क्षेत्रको सुधारका लागि अध्ययन तथा योजना निर्माणको काम सुरु गरिसकेको जानकारी दिँदै अब त्यसैको निष्कर्षका आधारमा योजनाबद्ध रूपमा विकासका कार्यहरू अघि बढाइने बताए। 

आगामी पाँच वर्षसम्म प्रतिनिधिसभामा यस क्षेत्रको सांसदका रूपमा नरहे पनि जनताले आफूमाथि गरेको विश्वासको सम्मान गर्दै एक प्रतिनिधिको रूपमा निरन्तर सक्रिय रहने उनको भनाइ थियो। उनले सर्लाही–४ को विकास र आगामी जितका लागि आफू सधैँ साथमा रहने र यहाँको स्थानीय भाषा सिकेर गाउँ–गाउँ पुगी मतदातासँग प्रत्यक्ष संवाद गर्ने योजना समेत सुनाए।

प्रमुख प्रतिपक्षी दलको सभापतिको रूपमा देशभरकै जिम्मेवारी काँधमा भए पनि आफू उम्मेदवार बनेको क्षेत्र सर्लाही–४ प्रति विशेष ध्यान र लगाव रहने थापाले उल्लेख गरे। जनताको सेवा गर्न र विकासका एजेन्डाहरूलाई तार्किक निष्कर्षमा पुर्‍याउन पदमै रहनुपर्ने बाध्यता नरहेको सन्देश दिँदै उनले सर्लाहीका बासिन्दासँगको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ