बेलायती प्रधानमन्त्री स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
266
Shares
काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि बेलायतको राजदूतमा पिटर म्यान्डेलसनको विवादास्पद नियुक्तिको विषयले प्रधानमन्त्री कीर स्टार्मरलाई गम्भीर राजनीतिक दबाबमा पारेको छ। म्यान्डेलसनको नियुक्तिलाई लिएर संसद्मा अनुसन्धान गराउने कि नगर्ने भन्ने विषयमा मङ्गलबार निर्णायक बहस र सम्भावित मतदान हुने तय भएको छ।
यस प्रकरणमा स्टार्मरका पूर्व चिफ अफ स्टाफ मोर्गन म्याकस्विनीले सांसदहरूको समूहसमक्ष गवाही दिनेछन्। म्यान्डेलसनको सुरक्षा जाँचमा प्रश्न उठ्दा पनि उनलाई किन यस्तो संवेदनशील कूटनीतिक जिम्मेवारी दिइयो भन्नेबारे म्याकस्विनीसँग सोधपुछ गरिनेछ। हाउस अफ कमन्सको विदेश मामिला समितिले यस विषयमा प्रश्नोत्तर गरेपछि पूर्ण सदनमा चर्को बहस हुने अपेक्षा गरिएको छ।
विपक्षी कन्जरभेटिभ पार्टीले नियुक्ति प्रक्रियामा गम्भीर त्रुटि भएको आरोप लगाएको छ। पार्टी नेतृ केमी बाडेनोचले स्टार्मरले संसद्लाई पटक–पटक भ्रमित पारेको दाबी गर्दै उनलाई संसद्को विशेषाधिकार समितिमा पठाएर औपचारिक अनुसन्धान गर्नुपर्ने माग गरेकी छन्। म्यान्डेलसनको नाम अमेरिकी यौन अपराधी जेफ्री एपस्टेनसँग जोडिएका कारण यो प्रकरण स्टार्मरका लागि थप जटिल बनेको छ। नयाँ विवरणहरू सार्वजनिक भएपछि स्टार्मरले सेप्टेम्बरमा उनलाई पदबाट हटाएका थिए।
यसैबीच, सन् २००९ मा एपस्टेनलाई संवेदनशील सरकारी जानकारी दिएको आरोपमा म्यान्डेलसनमाथि प्रहरी अनुसन्धान पनि सुरु भएको छ। पूर्व उच्च कर्मचारी ओली रोबिन्सले प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूले नियुक्ति प्रक्रिया छिटो पार्न दबाब दिएको आरोप लगाएका छन्। म्यान्डेलसनलाई अमेरिकामा नयाँ प्रशासन आउनुअघि नै पदस्थापन गराउन हतार गरिएको दाबी रोबिन्सले गरे।
प्रधानमन्त्री स्टार्मरले भने आफ्नो कार्यालयबाट कुनै दबाब नदिइएको दाबी गरेका छन्। तर, सुरक्षा निकायको सिफारिसविपरीत म्यान्डेलसनलाई स्वीकृति दिइएको तथ्य बाहिरिएपछि उनले सुरक्षा सम्बन्धी चिन्ताबारे आफूलाई जानकारी नदिइएको भन्दै आश्चर्य व्यक्त गरे। राजनीतिक विश्लेषकहरूले यो विवादले स्टार्मरको नेतृत्व क्षमतामाथि प्रश्न उठाएको बताएका छन्। मे ७ मा हुने स्थानीय चुनाव नजिकिँदै गर्दा यो मुद्दाले लेबर पार्टीका लागि थप राजनीतिक जोखिम निम्त्याउन सक्ने देखिएको छ। यदि संसदीय समितिले प्रधानमन्त्रीलाई दोषी ठहर गरेमा यसले उनको राजनीतिक भविष्यमै संकट पैदा गर्न सक्नेछ।