'स्ट्रेट अफ हर्मुज' पुनः खुला गर्न बेलायत र फ्रान्सको नेतृत्वमा अन्तर्राष्ट्रिय पहल
३० देशको सुरक्षा सम्मेलन हुने
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
2k
Shares
काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इरानले बन्द गरेको रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनमा ल्याउन बेलायत र फ्रान्सले कुटनीतिक तथा सैन्य पहल सुरु गर्ने भएका छन्। यसै हप्ता बेलायतले करिब ३० देशका रक्षा अधिकारीहरूको विशेष वार्ताको अध्यक्षता गर्ने बेलायती सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन्।
‘द गार्जियन’ का अनुसार यसै हप्ताको अन्त्यमा हुने ‘चिफ अफ डिफेन्स स्टाफ’ को बैठकले जलमार्ग खुला गर्ने विषयमा केन्द्रित रहेर सुरक्षा सम्मेलनको खाका तयार गर्ने छ। इरानले प्रभावकारी रूपमा बन्द गरेको यो जलमार्ग विश्वव्यापी ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। रक्षा अधिकारीहरूले निकट भविष्यमै यो मार्ग सुरक्षित रूपमा खोल्नका लागि गठबन्धन निर्माण गर्ने लक्ष्य राखेका छन्।
बेलायतले यो शिखर सम्मेलन आफ्नै देशको दक्षिणी सहर पोट्र्समाउथ वा लन्डनमा आयोजना गर्ने प्रस्ताव गरेको ‘द टाइम्स’ ले उल्लेख गरेको छ। सम्मेलनको मुख्य उद्देश्य जलमार्गको अवस्था अनुकूल हुनेबित्तिकै यसलाई पुनः सुचारु गर्न आवश्यक सुरक्षा र प्राविधिक विवरणहरू तयार पार्नु रहेको छ। यो पहल सफल भएमा विश्वबजारमा इन्धनको आपूर्ति र मूल्यमा देखिएको दबाब कम हुने विश्वास गरिएको छ।